• ९ माघ २०८२, शुक्रबार

एउटै पालिकाका पाँच उम्मेदवार

blog

ताप्लेजुङ समाचारदाता  

ताप्लेजुङ, माघ ९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका छन् । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी (मनोनयन) दर्ता गराउनेमध्ये पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका हुन् । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका १३ मध्ये पाँच जना उम्मेदवार एउटै स्थानीय तह सिरिजङ्घा गाउँपालिकाका रहनुभएको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बू, नेकपा (एमाले) का क्षितिज थेबे र नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्री (पराग) रहनुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको इन्जिनियर वीरेन्द्र श्रेष्ठ र श्रम संस्कृति पार्टीका सन्तोष राई सिरिजङ्घा गाउँपालिकाकै हुनुहुन्छ । कांग्रेसका उम्मेदवार तुम्याहाङ सिरिजङ्घा गाउँपालिका–७, खेवाङ, एमालेका थेबे र रास्वपाका उम्मेदवार वडा १ सिनाम, नेकपाका बुडाक्षेत्री वडा ५ पेदाङ र श्रम संस्कृतिका उम्मेदवार राई वडा ८ याम्फुदिनका रहनु्भएको छ ।

जनता समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवार बन्नुभएका सूर्य गुरुङ, जनता समाजवादी पार्टीका अरुण सुब्बा लेछर्बो, उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेन र मङ्गोल नेसनल अर्गनाइजेसन नेपालका सन्तबहादुर लिम्बू फु्ङलिङ नगरपालिकाबाट हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार इन्द्रप्रसाद थापा र नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङ लिम्बू मिक्वाखोला गाउँपालिकाका हुनुहुन्छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार मुक्साम लाबुङ लिम्बू र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नरपति पौडेल फक्ताङ्लुङ गाउँपालिकाका रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

ताप्लेजुङबाट मनोनयन दर्ता गराएका १३ जनाकै उम्मेदवारी कायम रहेको छ । बुधबारका लागि तोकिएको दाबीविरोध वा उजुरीको समयावधिमा कसैको पनि उजुरी नपरेपछि सबैजनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।