महोत्तरी समाचारदाता
महोत्तरी, माघ ९ गते । महोत्तरीमा प्रतिनिधि सभा निर्वाचन २०८२ मा बागी उम्मेदवारको सङ्ख्या निकै थोरै देखिएको छ । बागी उम्मेदवार थोरै देखिए पनि उनीहरूले नतिजाको दिशा भने मोड्न सक्ने अनुमान गरिएको छ ।
जिल्लामा रहेको चार वटा क्षेत्रमध्ये क्षेत्र नं. १ र क्षेत्र नं. ३ मा मात्रै हेभिभेट बागी उम्मेदवार देखिएका छन् । क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारीको चर्चा चलेका विजय पोखरेल अन्तिम समयमा आएर टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यसमिति सदस्य तथा सो क्षेत्रमा जेनजीबिच रुचाइएका पोखरेललाई पार्टीले अन्तिम समयमा उम्मेदवारीका लागि टिकट नदिएपछि उहाँले बागी भएर स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नं. १ मा प्रमोदकुमार महतोलाई उम्मेदवार बनाएको हो ।
त्यसै गरी क्षेत्र नं. ३ मा बागी भएर दुई जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । जसपाबाट मुख्य उम्मेदवारका रूपमा रहनुभएका तथा पार्टीले प्रत्यक्षतर्फ सिफारिससमेत गर्नुभएका पूर्वकृषिमन्त्री हरिनारायण यादवले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । जसपा र लोसपाको मिलनपछि बनेको जसपा पार्टीले यस क्षेत्रमा महन्थ ठाकुरकी पुत्री मिनाक्षीलाई उम्मेदवार बनाएपछि हरिनारायण यादवले पार्टीबाट राजीनामा गरी स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको हो । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उहाँ महन्थ ठाकुरसँग दुई हजार मतले मात्रै पराजित हुनुभएको थियो ।
उहाँले जसपा नेपालको स्थापनादेखि नै (फोरमदेखि) आफू सो पार्टीमा संलग्न रहे पनि पार्टीले उचित मूल्याङ्कन नगरेका कारणले आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको जानकारी दिनुभयो । पार्टीका कार्यकर्ता तथा शुभेच्छुकले साथ दिएपछि निर्वाचनमा उम्मेदवारी दिएको उहाँको भनाइ थियो ।
त्यसै गरी नेकपा (एमाले) बाट प्रत्यक्षतर्फ एकल सिफारिसमा पर्नुभएका रामआधार कापर पनि अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि पार्टीबाट बागी भई स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । सुरुदेखि नै आफू उम्मेदवार भई चुनावको तयारीमा रहे पनि पार्टीले अन्तिम समयमा आएर मनोज सिंहलाई पार्टीको टिकट उपलब्ध गराएपछि आफू बागी भएर स्वतन्त्र उम्मेदवारी दिएको रामआधार कापरले बताउनुभयो ।
क्षेत्र नं. ३ मा दुवैको उम्मेदवारीले एमाले तथा जसपा नेपालका उम्मेदवारलाई चुनौती थप्ने अनुमान गरिएको छ । क्षेत्र नं. ४ मा एमालेबाट मुख्य उम्मेदवारका रूपमा रहनुभएका मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई पार्टीले टिकट नदिएर नीलम अधिकारीलाई टिकट दिएको छ । कार्यकर्ता र पार्टीले अन्याय गरेको भन्दै आए पनि सरोजकुमार यादवले आफू प्रदेश सभामै अहिले रहेको र आफ्नो सहमति रहेकोले नीलम अधिकारीलाई उम्मेदवारी दिन लगाएको जानकारी दिनुभएको छ ।
महोत्तरी जिल्लामा माघ ६ गते मङ्गलबार भएको प्रतिनिधि सभा निर्वाचनका लागि महोत्तरीमा रहेको चार वटै क्षेत्रमा १४३ जनाले मनोनयन गराएका छन् । जसमा १९ जना महिला तथा १२४ जना पुरुष रहेको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम नामावलीले देखाएको छ । महोत्तरी क्षेत्र नं. १ बर्दीबासस्थित निर्वाचन कार्यालयमा दलबाट १३ र स्वतन्त्र १४ गरी २७ उम्मेदवारी दर्ता गराएकामा २२ पुरुष र पाँच महिला छन् । त्यस्तै क्षेत्र नं. २ बाट १५ दलगत र २२ स्वतन्त्र गरी कुल ३७ जनाको उम्मेदवारी परेकामा सोमध्ये ३२ पुरुष र पाँच महिला छन् । यता क्षेत्र नं. ३ मा दलबाट १५ र स्वतन्त्र २७ गरी कुल ४२ जनाको उम्मेदवारी परेकामा ४० पुरुष र दुई महिला छन् । त्यस्तै क्षेत्र नं. ४ मा दलबाट १३ र स्वतन्त्र उम्मेदवारी २४ गरी ३७ जनाले उम्मेदवारी दर्ता गराएको छ ।
जलेश्वर नगरपालिका–२ का युवा जितेन्द्र पासवानले महोत्तरीमा बागी उम्मेदवारको सङ्ख्या थोरै देखिए पनि नतिजा उलटफेर गर्न सक्ने देखिएको बताउनुभयो । उहाँले बागी उम्मेदवारलाई पार्टीगत रूपमा तथा अन्य रूपमा समेत निष्क्रियको प्रयास भइरहेको आफूले बुझेको बताउनुभयो ।