शङ्कर केसी
सल्यान, माघ ९ गते । आर्थिक वर्ष २०७६/०७७ देखि सल्यानको त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रमले किसानहरु बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका छन् । यस कार्यक्रममार्फत गाउँपालिकाले खसी बिक्रीमा किसानलाई प्रतिकिलो अनुदान उपलब्ध गराउँदै आएको छ । पछिल्लो समय यहाँका किसानहरुले व्यावसायिक बाख्रापालन व्यवसायलाई विस्तार गर्दै मनग्य आम्दानी गर्दै आएका छन् ।
स्थानीय कृषकलाई व्यावसायिक पशुपालनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले सहकारी मार्फत खसी बिक्री गर्ने कृषकलाई तौलका आधारमा प्रतिकिलो थप २० रुपियाँ अनुदान दिँदै आएको गाउँपालिकाको पशुपन्छी विकास शाखाले जनाएको छ ।
बुधबार मात्रै किसानहरुले गाउँपालिकामा सुचिकृत भएका तीनवटा सहकारीहरु मार्फत करिब १४ लाख रुपियाँ बराबरको खसी बिक्री गरेका छन् । सहकारी संस्थामार्फत १३ लाख ९२ हजार २१० रुपियाँ बराबरको खसी निकासी भएको पशु विकास शाखा प्रमुख वसन्त रावतले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीनवटा सहकारीहरु दुर्गा भवानीले ३५ वटा खसी बिक्री गरी पाँच लाख ८६ हजार ६७० रुपियाँ आम्दानी गरेको छ । त्यसैगरी उपहारले २८ वटा खसी बिक्री गर्दै पाँच लाख १० हजार ५२० रुपियाँ बराबरको कारोबार गरेको छ भने नमुनाले १० वटा खसी निर्यात गरी एक लाख ९५ हजार २० रुपियाँ आम्दानी गरेको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा खसी बिक्री गरेर त्रिवेणीका किसानहरुले तीन करोड २६ लाख ४३ हजार ६०३ रुपियाँ हात पारेका थिए । त्यसको अघिल्लो आर्थिक वर्षमा त्रिवेणीका किसानहरुले सहकारीमार्फत दुई करोड ३६ लाख ३० हजार ६२९ रूपियाँको खसी बिक्री गर्दै पालिकाको अनुदान समेत पाएका थिए ।
यो अनुदानले कृषकको उत्पादन लागत घट्नुका साथै उचित मूल्य पाउन सहयोग पुगेको गाउँपालिकाको भनाइ छ । पछिल्लो समय किसानहरु बाख्रापालनतर्फ आकर्षित भएको गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताउनुभयो । विगतमा व्यापारीहरूले आफूखुसी खसीबोकाको मूल्य निर्धारण गर्दा किसानहरू मारमा पर्नेगरेको गुनासो आउने गरेकोमा सहकारीमार्फत खसीबोकाको बजारीकरण भएदेखी किसानहरू खुसी देखिएको उहाँको भनाइ छ ।