विकास अधिकारी
पश्चिम नवलपरासी, माघ ९ गते । पश्चिम नवलपरासीको रामग्राममा रहेको ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरको उत्खननका क्रममा जमिनमुनि महत्वपूर्ण प्राचीन संरचना भेटिएपछि फेरि उत्खनन गरिएको छ ।
गत मङ्सिरबाट एक महिनासम्म भएको उत्खननका क्रममा प्राचीन विहारको भौतिक संरचना भेटिएको थियो । यसअघि भूभौतिक सर्वेक्षणले औँल्याएको क्षेत्रभन्दा बाहिरी भूभागमा समेत इँटाका पर्खाल र इनारको संरचना भेटिएपछि सो क्षेत्र महत्वपूर्ण भएको निष्कर्षसहित रामग्राम नगरपालिकासँगको समन्वयमा पुरातत्व विभागले फेरि उत्खनन गरिरहेको छ । पछिल्लो उत्खननका क्रममा जमिनमुनि भेटिएको इँटाको संरचना थप क्षेत्रमा फैलिएको पाइएको छ भने प्राचीन सभ्यता र ऐतिहासिक महत्वबारे थप अध्ययन गर्न सहयोगी हुने धार्मिक कुण्ड फेला परेको छ ।
पुरातत्व विभागका पुरातत्वविद् भास्कर ज्ञवालीले इँटाले तहगत रूपमा बनाइएको उक्त संरचनाको विषयमा थप अध्ययनले धेरै कुराको यकिन गर्न सहयोग पुग्ने बताउनुभयो ।
उक्त स्थलको संरक्षणका लागि जग्गाको क्षेत्रफल यकिन गर्न नापजाँच भइरहेको छ । रामग्राम नगरपालिका, मालपोत र नापी कार्यालय परासीले क्षेत्रफल यकिन गर्न संयुक्त रूपमा नापजाँच गरिरहेका छन् । रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले पण्डितपुरलाई सङ्घीय सरकारबाट संरक्षित क्षेत्र घोषणा गरेर थप अध्ययनको काम अगाडि बढाउन जग्गा यकिन गर्न लागिएको बताउनुभयो । पछिल्लो पटक भएका उत्खननका क्रममा भेटिएका प्राचीन सामग्री र जमिनमुनिको संरचनाका आधारमा बुद्धको मावली र कोलीय गणराज्यको राजधानी पण्डितपुर भएको उहाँको भनाइ छ । पण्डितपुरमा कुषाणकालीन समयका तामाका सिक्का र अन्य पुरातात्त्विक सामग्री जमिनमुनि फेला परेको छ । सो क्षेत्रमा खेतीपाती र बसोबास हुँदै आएकाले प्राचीन महत्व बोकेका संरचनामा क्षति पुग्न सक्ने भएकाले निर्माण कार्य पनि रोक्नुपर्नेमा पुरातत्व विभागले जोड दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले पण्डितपुरमा पछिल्लो उत्खननका क्रममा भेटिएका संरचनाको संरक्षणका लागि नगरपालिकाले जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो ।
पण्डितपुरमा यसअघि उत्खननका क्रममा चक्र आकारमा व्यवस्थित प्राचीन सहरको संरचना जमिनमुनि फेला परेको छ । ती संरचनाको उत्खनन गरी बेलायत पठाएर गरिएको नमुना परीक्षणका क्रममा इसापूर्व छैटौँ शताब्दीको भएको पुष्टि भइसकेको छ ।