सुर्खेत समाचारदाता
सुर्खेत, माघ ९ गते । आगामी फागुन २१ गते हुने निर्वाचनमा कर्णालीमा सामान्यभन्दा संवेदनशील मतदान स्थल बढी भएको प्रहरीको तथ्याङ्क छ । कर्णालीका १० जिल्लामा कुल ९४१ मतदान स्थलमध्ये ७७९ वटा मतदान स्थल संवेदनशील मानिएको छ । यसमा संवेदनशील ४२० वटा र अति संवेदनशील ३५९ वटा रहेका छन् । सामान्य १६२ वटा मात्र छन् । अस्थायी मतदान स्थल १८ वटा छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णालीमा एक हजार ४३७ वटा मतदान केन्द्रमध्ये एक हजार एक सय वटा मतदान केन्द्र संवेदनशील छन् । जसमा संवेदनशील ६५९ वटा र अति संवदेनशील ४४१ वटा रहेका छन् । सामान्य मतदान केन्द्र ३०१ वटा रहेका छन् । अस्थायी मतदान केन्द्र १८ वटा रहेका छन् । कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी माधवप्रसाद श्रेष्ठले निर्वाचनमा कर्णालीमा चार हजार ९७६ जना प्रहरी जनशक्ति र नौ हजार ७४३ जना निर्वाचन प्रहरी खटिने जानकारी दिनुभयो ।
जिल्ला सुरक्षा समितिले विभिन्न मापदण्डका आधारमा मतदान स्थल र मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील वर्गीकरण गर्ने गरेको छ । सोही अनुसार कर्णालीमा पनि वर्गीकरण गरिएको जानकारी उहाँले दिनुभयो । दुर्गमभन्दा सुगमका मतदान केन्द्र र मतदान स्थललाई संवेदनशील मानेर सोही अनुसार जनशक्ति व्यवस्थापन गरिएको छ । मतदान केन्द्र सरकारी संरचनामै राखिएको छ । सुगममा उम्मेदवार बढी हुने, सामाजिक सञ्जालको बढी प्रयोग हुने जस्ता घटनाले गर्दा संवेदनशील हुने गरेका छन् ।
कर्णालीमा केही सुरक्षा चुनौती रहे पनि त्यसलाई सामना गरेर निर्वाचनलाई भयरहित, शान्तिपूर्ण बनाउने अभियानमा प्रहरी क्रियाशील बनेको डिआइजी श्रेष्ठले बताउनुभयो । कर्णालीमा जेनजी आन्दोलनका क्रममा भागेकामध्ये २५ जना कैदीबन्दी अझै फरार भएको, केही हतियार लुटिएको हुँदा निर्वाचनका बेला केही आपराधिक घटना हुन सक्ने जोखिम भए पनि त्यस्ता घटना न्यूनीकरण गर्न थप प्रहरीको व्यवस्था गरिएको उहाँले जनाउनुभयो । साथै हेभिवेट उम्मेदवार उठेका जिल्लालाई पनि संवेदनशील मानिएको छ । यसै गरी निर्वाचनका बेला सामाजिक सञ्जालको पनि व्यापक दुरुपयोग हुने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले अनुगमन टोली पनि गठन गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न, मिथ्या सूचना निगरानी गर्न प्रहरी खटाइएको जानकारी डिआइजी श्रेष्ठले दिनुभयो । यसै गरी उम्मेदवारी बढी दिएका जिल्लालाई पनि संवेदनशीलमा राखिएको छ ।
निर्वाचन राष्ट्रिय पर्व भएकाले यसलाई भयरहित वातावरणमा शान्तिपूर्ण रूपले सम्पन्न गराउने दायित्व प्रहरीको मात्र नभई सबैको भएकाले सबैलाई उहाँले आआफ्ना ठाउँबाट योगदान गर्न अपिल गर्नुभयो । कर्णालीमा भौगोलिक विकटताले भनेको समयमा प्रहरी पुग्न समय लाग्ने हुँदा राजनीतिक दल, नागरिक समाजलगायतले यस्तो बेला समन्वयकारी भूमिका खेलेर सहज वातावरण बनाइदिनुपर्ने आग्रह उहाँको छ ।