• ९ माघ २०८२, शुक्रबार

स्थानीय तहको मत जोगाउने दाउमा उम्मेदवार

blog

गोकर्ण दयाल 

बैतडी, माघ ९ गते  ।  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तीन ठुला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गाउँ गाउँ पुगेर आफ्ना पुराना मतदाता जोगाउने दाउमा लागेका छन् । 

बैतडीका १० स्थानीय तह र ८४ वडामा गएको स्थानीय तहको निर्वाचनमा एमाले र कांग्रेस बराबरी अवस्थामा छन् । तेस्रो नम्बरमा नेपाली कम्युनिस्ट पार्टी देखिन्छ ।  अब हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा विभिन्न राजनीतिक दलका १० र दुई स्वतन्त्र गरी १२ उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । 

स्थानीय तहमा एमाले र कांग्रेसको पकड  

स्थानीय तहको अवस्था हेर्दा नेपाली कांग्रेस र एमाले बराबरी अवस्थामा छन् । दुवैले चार/चार स्थानीय तहसहित ३४ वडा जितेका छन् भने तत्कालीन माओवादी केन्द्रले एक नगरपालिकासहित १३ वडा जितेको थियो । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो चुनाव चिह्नबाट एउटा वडामा जितेको थियो भने एक गाउँपालिका र तीन वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । १० स्थानीय तहमध्ये कांग्रेसले सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पुर्चौडी नगरपालिका र पाटन नगरपालिकामा जितेको थियो । एमालेले दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा जितेको थियो । तत्कालीन माओवादी केन्द्रले मेलौली नगरपालिका र डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले जितेका थिए । 

८४ वडामध्ये नेपाली कांग्रेस र नेकपा (एमाले) ले ३४/३४ वडा जितेका छन् । माओवादी केन्द्रले १३ वडामा जित हासिल गरेको थियो । कलम चुनाव चिह्नबाट भने समाजवादीले कुनै पालिकामा जित हासिस गर्न सकेको थिएन । हाल दुवै पार्टी एकीकरण भएर नेपाली कम्युनिस्ट पार्टीका रूपमा निर्वाचनमा होमिएको छ । पुर्चौडी नगरपालिका, पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टीको सङ्गठन बलियो मानिन्छ । दुई पार्टीबिच एकीकरण हुँदा बलियो सङ्गठन बनेको उम्मेदवार परमानन्द भट्टले दाबी गर्नुभयो । 

एमालेका उम्मेदवार दामोदर भण्डारीले पार्टी सङ्गठनको जगमा तीन चोटि प्रतिनिधि सभामा जितेकाले चौथो पटक पनि पार्टी सङ्ठनकै कारण चुनाव जित्ने दाबी गर्दै आउनुभएको छ ।