प्रवीणकुमार शर्मा
रौतहट, माघ ८ गते । रौतहटको फतुवा विजयपुर नगरपालिका–८, विजयपुरमा विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।
माँ सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुबोध यादवले जानकारी दिनुभयो । एक कार्यक्रमका बिच उक्त विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थीलाई आर्थिक वर्ष २०८१-८२ छात्रवृत्तिको रकमबाट पोशाक वितरण गरिएको उहाँले बताउनुभयो ।
विद्यार्थीलाई नियमित विद्यालयमा आउन र पठनपाठनमा सहज होस् भन्ने उद्येश्यले पोशाक वितरण गरिएको विद्यालयका शिक्षिका सरिता यादवको भनाइ छ ।
विद्यालयमा अध्ययनरत दलित विद्यार्थी तथा छात्राहरुका लागि आउने छात्रवृत्ति रकमबाट विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि कक्षा ५ सम्मका १ सय ५० विद्यार्थीलाई पोशाक वितरण गरिएको विद्यालयका बाल विकास सहजकर्ता दिपमाला यादवले जानकारी दिनुभयो ।
विद्यार्थीलाई पोशाक वितरण गर्नुहुँदै फतुवा विजयपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख अम्बेया खातुनले शिक्षामा टेवा पुगोस् भन्ने उद्येश्यले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई पोशाक वितरण गरिएको बताउनुभयो ।
पोशाक वितरण कार्यक्रममा शिक्षा शाखा प्रमुख मुकेश साह, राजश्व शाखा प्रमुख उपेन्द्रप्रसाद साह, विद्यार्थी, अभिभावक तथा स्थानीय बुद्धिजीवीको उपस्थिति रहेको थियो ।