चितवन, माघ ८ गते । कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । कारागार कार्यालयले साउनदेखि हालसम्म देशका विभिन्न कारागारमा उनीहरूलाई स्थानान्तरण गरेको हो ।
मकवानपुरको भीमफेदी, कपिलवस्तु, नुवाकोट, जगन्नाथदेवल काठमाडौँ, कास्की, नवलपरासी र नख्खुमा उनीहरूलाई स्थानान्तरण गरिएको हो । कारागारमा रहेका कैदीलाई चाप अनुसार स्थानान्तरण गरिँदै आइएको कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार साउनयता उनीहरूलाई स्थानान्तरण गरिएको हो ।
अहिले कारागारमा ३९ जना महिलासहित ६३२ जना कैदीबन्दी छन् । उनीहरूसँग आश्रित दुई जना बालबालिका पनि रहेका सूचना अधिकारी ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार कारागारको क्षमता ५०५ जनाको हो । “महिला ३० र ४७५ जना पुरुषको क्षमता रहेको छ । यस कारागारमा विभिन्न जिल्लाबाट उपचारका लागि आउने कैदीबन्दी र चितवन, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा कारागार नहुँदा त्यहाँका कैदीबन्दी पनि ल्याउने गरिन्छ”, उहाँले भन्नुभयो ।
यहाँबाट गत भदौ २५ गते ७३९ जना कैदीबन्दी भागेका थिए । जसमध्ये अहिलेसम्म ११४ जना कैदीबन्दी फर्कन बाँकी रहेका छन् । जसमध्ये ११ जना भारतीय नागरिक हुन् । रासस