• ८ माघ २०८२, बिहिबार

विद्युतीय बारमा करेन्ट लागेर एक जनाको मृत्यु

blog

विजयकुमार साह 

ढल्केबर, माघ ८ गते ।  धनुषाधाम नगरपालिका–६, हरिपुरस्थित खेतमा जङ्गली जनावरबाट बाली जोगाउन लगाइएको विद्युतीय बारमा करेन्ट लागेर बिहीबार एक जनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले मृत्यु हुनेमा हरिपुरका करिब ५० वर्षीय चन्देश्वर महतो रहेको बताउनुभयो । 

उहाँका अनुसार जङ्गली जनावरबाट बाली जोगाउने उद्देश्यले खेत वरिपरि विद्युतीय बार जडान गरिएको खुलेको छ । सोही विद्युतीय बारमा करेन्ट प्रवाह भइरहेका बेला महतो सम्पर्कमा आउँदा मृत्यु प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रहरी निरीक्षक केसीले घटनास्थलममा करेन्ट लागेर एउटा बाँदर पनि मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो । उहाँले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र  घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।