• ७ माघ २०८२, बुधबार

६५ कन्याको सामूहिक बेल विवाह गरिँदै

blog

सामूहिक बेल विवाह बारे जानकारी दिइँदै । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, माघ ७ गते । नेवारी समुदायको प्राचीन संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित हेटौँडामा ६५ जना कन्याको सामूहिक बेल विवाह गरिने भएको छ । नेवारी समुदायमा बालिकाको रजस्वला हुनुभन्दा अघि बेलसँग विवाह गराइदिने चलन छ । 

नेवारीमा यसलाई इही भन्ने गरिन्छ । चलन पछ्याउँदै हेटौँडामा सामूहिक बेल विवाहका गरिन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । वैवाहिक समारोह माघ ९ र १० गते दुई दिनसम्म चल्ने ५४ औँ इही यज्ञ (सुवर्णकुमार बेल विवाह) गुठी हेटौँडाले जानकारी दिएको छ । 

श्रीपञ्चमीको शुभ साइतमा कार्यक्रम गरिने गुठीका अध्यक्ष हरिश्चन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सुवर्णकुमार बेल विवाह गुठी हेटौँडाले भड्किलो खर्च घटाएर नेवारी परम्परालाई जीवित राख्ने उद्देश्यले बसपार्कको टहरारूपी डबलीमा यज्ञ गरी कन्याको सामूहिक बेल विवाह गर्न लागेको उहाँले बताउनुभयो । 

नेवारी संस्कृति बचाउन र सामाजिक व्यवहारमा तडक–भडक घटाई कम खर्चमा सम्पन्न गर्न सामूहिक विवाहको आयोजना गर्न लागेको गुठीका प्रमुख श्रेष्ठको भनाइ छ । हेटौँडामा उक्त गुठीले विगत ५३ वर्षदेखि श्रीपञ्चमीमा सामूहिक बेल विवाहको आयोजना गर्दैआएको छ । 

गुठीले न्यूनतम शुल्कमा कन्यालाई विधिवत पूजामा समावेश गर्दैआएको छ । असहाय परिवारका कन्याको सम्पूर्ण खर्च समेत गुठी परिवारले बेहोर्दै आएको छ । २०२९ सालमा उपत्यका बाहिर पहिलो पटक हेटौँडामा इही यज्ञ कार्यक्रम सुरु भएको थियो । स्वर्गीय विकुलाल तौजले र स्वर्गीय प्रेमलाल श्रेष्ठले इही हेटौँडामा सुभारम्भ गर्नुभएको गुठीले जनाएको छ । 

यो संस्कार मल्लकालीन सभ्यता तथा देवी शक्तिमा आधारित पारम्परिक विधिअनुसार सम्पन्न गर्ने गरिन्छ । उपत्यकाबाट आमन्त्रण गरिएको नेवारी समुदायका ब्राह्मण बज्राचार्य, कर्माचार्य, जोशी, सेवाचार्य, पूजारी तथा पण्डितमार्फत विधिपूर्वक पूजा सम्पन्न हुने परम्परा छ । बेललाई शिवको प्रतिरूप मानिन्छ । यो फल बढी टिकाउ हुने, सुक्दा पनि नबिग्रने र कीराले पनि नखाने भएकाले स्थायित्वको प्रतीक बेललाई मानिन्छ । 

बेल विवाहको प्रथा नेवार समुदायमा मात्र रहेको छ । बेल विवाह गरेपछि कहिल्यै सिन्दुर पुछ्नु नपर्ने तथा विधुवाको रूपधारण गर्नु नपर्ने प्रचलन नेवार समुदायमा छ । यस वर्षको कार्यक्रम पालोवाला गुठियार तथा आजीवन सदस्य यसकुमार श्रेष्ठको संयोजनमा आयोजना हुने गुठीले जानकारी दिएको छ ।