अर्जुन काफ्ले
स्याङ्जा, माघ ७ गते । पुतलीबजार नगरपालिका –३ पुतलीखेतमा निर्माणाधीन नेवार (नेवाः) सङग्रहालय अलपत्र परेको छ । तीन वर्षमा सक्नेगरी निर्माण थालिएको सङ्ग्रहालय १० वर्ष बितिसक्दा पनि बजेट अभावले अलपत्र अवस्थामा छ ।
नेवाः गुठी पुतलीबजारको अगुवाइमा दुई करोड ५९ लाखको लागतमा निर्माण थालिएको सङ्ग्रहालय अलपत्र बनेको हो । आर्थिक वर्ष २०७२–७३ बाट ८५ लाख खर्चेर भौतिक संरचना बनाए पनि सङ्ग्रहालयको आवश्यक पूर्वाधार बन्न नसकेको हो ।
सङग्रहालय निर्माण सम्पन्न गर्न अब एक करोड बजेट आवश्यक पर्ने नेवाः गुठी पुतलीबजारले जनाएको छ । नेवार समुदायको कला संस्कृति, रीतिरिवाज, परम्परा र पहिचानको प्रवर्धनबाट पर्यटन विकासमा टेवा दिने उद्देश्यले सङ्ग्रहालय निर्माण थालिएको थियो ।
पाँच रोपनी सार्वजनिक जग्गासहित सात रोपनी क्षेत्रफलमा फैलिएको सङग्रहालय बन्न नसकेको हो । सङग्रहालय बनाउन स्थानीय मोतिकुमारी श्रेष्ठ र पदमनारायण श्रेष्ठले झण्डै दुई रोपनी जग्गा निःशुल्क दिनुभएको गुठीले जनाएको छ ।
गुठीको पूर्व अध्यक्ष देबेन्द्रकुमार श्रेष्ठले सङ्ग्रहालयको सभाहल, खानेपानी र शौचालय सुविधासहित दुई तलाको संरचना बने पनि अन्य पूर्वाधार बन्न नसकेको बताउनुभयो । पछिल्लो समय तीन तहको सरकार बनेपछि कुनै पनि सरकारले जिम्मेवारी नलिँदा समुदायको प्रयास भए पनि भवन अलपत्र बनेको श्रेष्ठको गुनासो छ ।
पुतलीबजार नगरपालिका, नेपाल पर्यटन बोर्ड र सामाजिक विकास कार्यालयले वार्षिक थोरै रकम दिए पनि मर्मतसम्भारमै रकम खर्च हुँदैआएको छ । सङ्ग्रहालय सञ्चालन गर्न झण्डै एक करोड बजेट भएमा पूर्वाधारसँगै आवश्यक सामग्रीको व्यवस्थापन गर्न सकिने गुठीका पदाधिकारीको भनाइ छ ।
तल्लो तलामा पाँच सय जना अट्ने सभाहल र भवनको माथिल्लो तलामा सङ्ग्रहालय राख्न सकिने भए पनि रकम अभावले अलपत्र परेसँगै समुदायका अगुवा निराश भएका छन् । समुदायले जत्तिकै प्रदेश सरकार र स्थानीय तहले चासो दिएमा सङग्रहालय तत्काल बनाउन सकिने गुठीका सल्लाहकार अनन्तकुमार श्रेष्ठले बताउनुभयो । सङ्ग्रहालय बनाउन सकेमा आन्तरिक र बाह्य पर्यटकलाई पुतलीबजारमा केन्द्रित गर्न सजिलो हुने श्रेष्ठले बताउनुभयो ।