सुरेश धामी
बझाङ, माघ ७ गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज ऐन महर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पुनः चुनावी प्रतिस्पर्धामा होमिनु भएको छ ।
विद्यार्थी राजनीतिबाट उदाउँदै अनेरास्ववियूको केन्द्रीय अध्यक्ष हुँदै पार्टीको केन्द्रीय नेतृत्वसम्म पुग्नु भएका महरलाई बझाङको राजनीतिमा निरन्तर सङ्घर्ष र सङ्गठन निर्माणमा खारिएको युवा नेताका रूपमा लिइन्छ ।
वि.सं. २०५५ सालदेखि औपचारिक राजनीतिमा सक्रिय रहनु भएका महरले बझाङकै सुनी पीपलचौर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्चशिक्षा अध्ययनका लागि काठमाडौँ जानु भयो । अध्ययनसँगै राजनीतिमा संलग्न उहाँ अनेरास्ववियूको माध्यमबाट सङ्गठित राजनीतिक यात्रामा होमिनु भएको हो ।
विद्यार्थी जीवनदेखि नै विचार, सङ्गठन र आन्दोलनलाई सँगसँगै अघि बढाउनु भएको महरको राजनीतिक पृष्ठभूमि सङ्घर्षशील छ । वि.सं. २०५० सालमा भएको मदन–आश्रित (दासढुङ्गा) दुर्घटनापछि सुरु भएको आन्दोलनले आफूलाई पूर्ण रूपमा राजनीतितर्फ आकर्षित गरेको महर बताउनु हुन्छ ।
स्वर्गीय मदन भण्डारीको विचार, भाषण र ‘जनताको बहुदलीय जनवाद’ सँग जोडिएको आन्दोलनमा सक्रिय रहँदै उहाँ एमाले राजनीतिमा दृढतापूर्वक स्थापित हुनु भयो । सोही कालखण्डबाट उहाँ विद्यार्थीको हकअधिकार, सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा देखिन थाल्नु भयो ।
अनेरास्ववियूको नेतृत्व
२०७६ जेठ ३ गते अनेरास्ववियूको केन्द्रीय अध्यक्ष निर्वाचित हुनुले महरलाई राष्ट्रिय राजनीतिमा चिनाएको थियो । राजधानी केन्द्रित राजनीतिमा सुदूरपश्चिम र कर्णालीबाट नेतृत्व तहमा पुग्नु कठिन मानिँदै आएको सन्दर्भमा उहाँको उदयलाई धेरैले अर्थपूर्ण उपलब्धिका रूपमा लिएका थिए ।
एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समय अनेरास्ववियू देशकै सबैभन्दा ठुलो विद्यार्थी सङ्गठन बनेको थियो, जसको नेतृत्व महरकै हातमा थियो ।
विद्यार्थी सङ्गठनपछि उहाँ एक कार्यकाल नेकपा (एमाले) को केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज रहनु भयो । हाल उहाँ पार्टीको केन्द्रीय कमिटी सदस्य तथा बझाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा हुनु हुन्छ । सङ्गठनभित्र निरन्तर सक्रियता, कार्यक्षमता र कार्यकर्ता माझको पहुँचका आधारमा नेतृत्वले जिम्मेवारी दिएको महरको भनाइ छ ।
२०७९ मा झिनो हार
महर २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उम्मेदवार बन्नु भएको थियो । तत्कालीन गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग उहाँ ९ सय ९८ मतको झिनो अन्तरले पराजित हुनु भएको थियो । यो हार सुदूरपश्चिम प्रदेशकै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सबैभन्दा कम मत अन्तरको पराजय थियो ।
पराजयपछि पनि उहाँ निष्क्रिय नबनी जिल्लाभर घरदैलोमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्दै सङ्गठन सुदृढीकरणमा लागि रहनु भयो । गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेर प्राप्त मतले उहाँको व्यक्तिगत राजनीतिक प्रभाव पुष्टि गरेको राजनीतिक विश्लेषकको भनाइ छ ।
चुनौती र सम्भावना
आगामी निर्वाचनमा महरका लागि मुख्य चुनौती अघिल्लो निर्वाचनको परिणामलाई उल्ट्याउनु हो । एमाले सङ्गठन बझाङमा सुदृढ रहेको दाबी गर्दै आएका महर पार्टीभित्रको एकता, सङ्गठनात्मक शक्ति र जनतासँगको निरन्तर सम्पर्क नै आफ्नो मुख्य आधार भएको बताउनु हुन्छ । उहाँले विकास, पहुँचविहीनता, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई संसदमा प्राथमिकतासाथ उठाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
महर भन्नु हुन्छ, “बझाङको समस्या मैले नजिकबाट देखेको र भोगेको छु । प्रतिनिधि सभामा ती मुद्दा बुलन्द रूपमा उठाएर समाधानतर्फ लैजान्छु । पदमा रहँदा वा नरहँदा जनताको पक्षमा काम गर्दै आएको छु । बझाङवासी मेरो जितको प्रतीक्षामा हुनु हुन्छ ।”