• ७ माघ २०८२, बुधबार

नवलपरासीमा एकै क्षेत्रमा कांग्रेसका दुई जनाको मनोनयन

blog

विकास अधिकारी
पश्चिम नवलपरासी, माघ ७ गते ।
पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुई जनाले उम्मेदवारी दर्ता गराएपछि अधिकारिकता विवाद सृजना भएको छ । देवेन्द्रराज कण्डेल र भीमबहादुर थापा ‘भरत’  दुवै जनाले कांग्रेसको आधिकारिक उम्मेदवार भएको दाबी गर्दै पार्टीको पत्र देखाएपछि दुवै जनाको उम्मेदवारी दर्ता भएको हो ।

उम्मेदवारी दर्ता भए पनि अधिकारिकता एक जना मात्र उम्मेदवारले पाउने भएकाले यसको टुङ्गो लाग्न बाँकी रहेको जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद  आचार्यले जानकारी दिनु भयो । उहाँ अनुसार बुधबार अपराह्न पौने चार बजे दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । अधिकारिकता जाँच गरी एक जनाको उम्मेदवारी कायम हुने आचार्यले बताउनु भयो ।  

कण्डेलले उम्मेदवारी दर्ताको तयारी गरिरहेको बेलामा थापाले त्यसअघिकै आएर उम्मेदवारी दर्ता गराउनु भएको थियो । कण्डेल कांग्रेसका निर्वतमान केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री हुनु हुन्छ भने थापा सुनवल नगरपालिकाका पूर्व नगर प्रमुख हुनु हुन्छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा क्षेत्र नम्बर ञ् बाट नेपाली कांग्रेसका बिनोद चौधरीले मनोनयन दर्ता गराउनु भएको छ । यसैगरी सोही क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) बाट जनता प्रगतिशील पार्टीका हृदयस त्रिपाठीले पनि उम्मेदवारी दर्ता गर्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट यसअघि नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री रहनुभएका बिक्रम खनालले मनोनयन दर्ता गर्नु भयो । नेकपा एमालेबाट सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष रामप्रसाद  पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको छ । क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष ध्रुवबहादुर प्रधानले मनोनयन दर्ता गराउनु भएको छ । उहाँ यसअघि विगठित प्रतिनिधि सभाको सदस्य हुनु हुन्थ्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामग्राम नगरपालिकाका पूर्व नगर प्रमुख रहनु भएका नरेन्द्रकुमार गुप्ताले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एमालेबाट लेखनाथ खरेलले मनोनयन दर्ता गर्नु भएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट बाग्लुङका देवेन्द्र पौडेलले मनोनयन दर्ता गराउनु भएको छ । जसपा नेपालबाट क्षेत्र नम्बर २ मा देवेन्द्र यादवको मनोनयन दर्ता भएको छ ।