केशव राज भट्ट
वाशुलिङ बैतडी, माघ ७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन बैतडी प्रशासनले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । सोही क्रममा जिल्ला प्रशासन कार्यालय बैतडीले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।
व्यक्तिका नाममा दर्ता रहेका हातहतियार तथा त्यसमा प्रयोग हुने गोली यही माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनु भयो । निर्वाचनको निष्पक्षता र मर्यादा कायम राख्न यस्तो निर्णय गरिएको उहाँले बताउनु भयो ।
निर्देशन अनुसार तोकिएको समयभित्र इजाजत प्राप्त हातहतियार नबुझाए प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी प्रशासनले दिएको छ । बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि चैत २० गतेपछि सम्बन्धित धनीलाई फिर्ता गरिने जनाइएको छ ।
यता जिल्ला निर्वाचन कार्यालय बैतडीले पनि निर्वाचनको तयारी तीव्र पारेको जनाएको छ । एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता भइसकेको छ ।
जिल्लामा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम गरिएका छन् भने एक लाख ५६ हजार ३७२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनु भयो ।