• ७ माघ २०८२, बुधबार

पर्वतबाट १७ जना चुनावी मैदानमा

blog

मुख्य प्रतिस्पर्धी चार दलका उम्मेदवारहरु ।

प्रनिश गिरी
कुश्मा (पर्वत), माघ ७ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्वतबाट १७ जना उम्मेदवार चुनावी मैदानमा होमिने भएका छन् । मैदानमा होमिने उम्मेदवारमध्ये विभिन्न राजनीतिक पार्टीसँग आवद्ध रहेका १३ जना छन् भने चार जना स्वतन्त्र उम्मेदवार हुन् ।

उम्मेदवारी दर्ता गराउनेहरुमा पाका उमेर समूहकादेखि युवा पुस्तासम्मका छन् । प्रतिनिधिसभा सदस्यका लागि मैदानमा खडा हुँदै गरेका उम्मेदवारहरुमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले वि.सं.२०५६ सालदेखि चुनाव लड्दै आउनुभएको छ । उहाँले वि.सं.२०५६, २०६४ र २०७० सालमा गरी तीन पटक चुनावमा विजय हात पार्नुभएको थियो ।

कांग्रेस नेता जोशी यसपाली चुनाव लड्दा छैटौ पटक चुनाव लड्नु हुनेछ । नेकपा एमालेका नेता तथा पूर्व स्वास्थ्य मन्त्री पदम गिरी वि.सं. २०७४ र २०७९ मा चुनाव लडेर विजयी भइसकेको नेता हुनुहुन्छ भने यसपाली चुनावमा जितेर ह्याट्रिक गर्ने तर्खरमा हुनुहुन्छ ।  

नेपाली कम्युनिष्ट पार्टीका मनहरि तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुषाल भने पहिलो पटक चुनावी मैदानमा हुनुहुन्छ । यसैगरी प्रतिनिधिसभा सदस्यका लागि राप्रपाबाट दुर्गा मल्ल, नेपाल मजदुर किसान पार्टीका ऐलिना सुवाल, नेपाल कम्युनिष्ट पार्टी माओवादीका कृष्ण बहादुर विक, आम जनता पार्टी (एकल चुनाव चिन्ह) का पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चाका भिमलाल न्यौपाने पनि चुनावमा प्रतिस्पर्धी रहनुभएको छ ।

चुनावी मैदानमा होमिने अन्य आकांक्षीहरुमा राष्ट्रिय जनमुक्ति पार्टीका माया पाईजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टीबाट यम बहादुर चोचांगी पुन, मंगोल नेशनल अर्गनाईजेशनबाट लालकुमारी थापा राना, नेशनल रिपब्लिक नेपालबाट वीर बहादुर गुरुङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यलय पर्वतले जनाएको छ ।  

निर्वाचन कार्यालयका अनुसार स्वतन्त्रबाट उम्मेदवार हुनुहुनेमा सितादेवी शर्मा, सावित्री शर्मा, मिना पौडेल शर्मा र गंगालाल रिमाल हुनुहुन्छ । जिल्लामा चुनावी मुख्य प्रतिस्पर्धा भने चार राजनीतिक दलहरु नेपाली कांग्रेस पार्टी, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका उम्मेदवारहरु बिच नै हुने आँकलन छ ।