• ७ माघ २०८२, बुधबार

रौतहटमा १४३ जनाको उम्मेदवारी दर्ता

blog

रौतहट क्षेत्र नम्बर १ मा उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरमा आउनुभएका नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 
रौतहट, माघ ७ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटको ४ वटै निर्वाचन क्षेत्रमा गरेर एक सय ४३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुग्न उम्मेदवारहरु सांस्कृतिक बाजागाजा र विशाल र्‍यालीसहित  नगर परिक्रमा गरेका थिए । र्‍यालीमा स्थानीयवासी, पार्टी कार्यकर्ताको सहभागिता थियो ।

रौतहट क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

रौतहट क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट अजयकुमार गुप्ता, नेपाली कांग्रेसबाट नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रहनुभएका अनिलकुमार झा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश चौधरी, जसपा नेपालबाट योगेन्द्र राय यादव, आम जनता पार्टीबाट अमर साहलगायत ३९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो ।

त्यस्तै, रौतहट क्षेत्र नम्बर २ मा कांग्रेसबाट फिरदोश आलम, नेकपा एमालेबाट मो. अतिउल्लाह, नेपाली कम्युनिष्ट पार्टिबाट किरणकुमार साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शेख सगिर, आम जनता पार्टीबाट श्री भगवान राउत, जसपा नेपालबाट राम आशिष राय यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सुरेन्द्रप्रसाद जयसवाल, जनमत पार्टीबाट सोनु कुशवाहालगायत २६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत सीताराम खडकाले जानकारी दिनुभयो ।

त्यस्तै रौतहट क्षेत्र नम्बर ३ मा कांग्रेसबाट रामकृपाल यादव, नेकपा एमालेबाट कुन्दन कुशवाहा, नेपाली कम्युनिष्ट पार्टीबाट पुनम यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवीन्द्र पटेल, आम जनता पार्टीबाट प्रभु साह, जसपा नेपालबाट गोविन्द चौधरी, जनमत पार्टीबाट शेख परवेज आलमलगायत ४१ जनाले उम्मेदवारी दिनुभएको निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत अवध किशोरप्रसाद कुशवाहाले जानकारी दिनुभयो ।

त्यस्तै, रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट देवप्रसाद तिमल्सिना, नेकपा एमालेबाट रामजी साह, नेपाली कम्युनिष्ट पार्टीबाट रामकुमार भट्टराई , राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पौडेल, आम जनता पार्टीबाट ऋषिराज धमला, जसपा नेपालबाट राजकुमार दास, जनमत पार्टीबाट राम कल्याण राउतलगायत ३७ जनाले उम्मेदवारी दिनुभएको निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिनुभयो ।

रौतहटक ४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता शान्तिपूर्ण रुपमा भएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिनुभयो ।