• ७ माघ २०८२, बुधबार

अछाम १ मा आठ जनाको उम्मेदवारी दर्ता

blog

उम्मेदवार दर्ता गराउन जाँदै उम्मेदवारहरु । तस्बिर : एकेन्द्र महता

एकेन्द्र महता
अछाम, माघ ७ गते ।
अछाम निर्वाचन क्षेत्र नं. १ मा सात वटा राजनीतिक दल र एक जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युष्टि पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी, मजदुर किसान पार्टी र एक जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका प्रभावशालि नेता डा. भीमबहादुर रावलले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रावलको प्रस्तावका पूर्व मन्त्री शेरबहादुर कुँवर र समर्थक पूर्व मन्त्री झपट साउँद रहनुभएको छ । पूर्व उपप्रधानमन्त्री डा. रावल अछाम निर्वाचन क्षेत्र नं. १ बाट २०५१, २०७० र २०७४ सालमा निर्वाचिन हुनु भएको थियो । २०७९ सालमा अछाम निर्वाचन क्षेत्र नं.१ बाट एकल सिफारिस गरे पनि उहाँले टिकट पाउनु भएको थिएन् ।

अघिल्लो निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नं. १ बाट तत्कालिन एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवरले जित्नु भएको थियो । अछाम निर्वाचन क्षेत्र नं.१ बाट २०६४ सालदेखि कम्युनिष्ट पार्टीले जित्दै आएको छ । उम्मेदवारीपछि प्रतिक्रिया दिँदै डा. रावलले देश अहिले गम्भीर सङ्कटको अवस्थामा रहेको बताउनुभएको छ । उहाँले आफू सांसद जितेर मन्त्री हुनका लागि नभएर चुनावी प्रतिस्पर्धामा नभएर सङ्कटग्रस्त अवस्थालाई सहि ट्रयाकमा ल्याउन उम्मेदवारी भएको प्रष्ट पार्नुभयो ।

यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवार बन्नु भएका भरत कुमार स्वाँरले अछामको विकासका लागि उम्मेदवारी दर्ता भएको बताउनुभयो । उहाँले कांग्रेस एक भएर चुनावी अभियानमा अघि बढेको पनि धारणा व्यक्त गर्नुभयो । नेकपा एमालेबाट उम्मेदवारी बन्नुभएका दिपक साउँदले आफू जेनजी पुस्ता र पूराका पुस्ताको उम्मेदवारी भएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले आफ्नो उम्मेदवारी परिवर्तन चाहने रहेको बताउनुभयो । जनताले अहिले परिवर्तन चाहेका कारण जित सुनिश्चित रहेको बताउनुभयो ।

यस्तै, राप्रपाका लोकेन्द्र बहादुर शाह, नेकपा माओवादीका लोकेन्द्र शाही, मजदुर किसान पार्टीका सुरेन्द्र  शाही र स्वतन्त्रमा भीम बहादुर कुँवरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।