• ७ माघ २०८२, बुधबार

बढ्यो हिंस्रक वन्यजन्तुको आतङ्क

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, माघ ७ गते  । बाँके जिल्लाको पूर्वी क्षेत्रमा पाटेबाघ र चितुवाको आतङ्क बढेपछि स्थानीयमा भयको वातावरण उत्पन्न भएको छ । 

जिल्लाको पूर्वमा पर्ने राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित बर्दापुर, लौकी तथा दाङको राजपुर गाउँपालिका अन्तर्गत हाड्बास गाउँ क्षेत्रमा बाघ र चितुवाको आतङ्क बढेपछि स्थानीय आतङ्कित र भयभित बनेका हुन् । 

केही दिनअघि बाँकेको राप्तीसोनारीको सौरी निवासी ६१ वर्षीय मरिचमान भण्डारीको पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको थियो । त्यसको केही दिनपछि बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने सुर्खेतको सीमावर्ती क्षेत्रमा एक जना र बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्र सल्यानको कालीमाटी गाउँपालिकामा दुई जनाको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो । 

ती घटनापछि राप्तीसोनारीका विभिन्न ठाउँमा बाघ र चितुवाको त्रास बढ्दै गएको स्थानीयले जनाएका छन् । राप्तीसोनारीको खोकरीका स्थानीय कृष्ण चौधरीले शनिबार पनि बाँके र दाङको सीमाक्षेत्रमा रहेको राप्ती बगरको नर्सरीमा पाटेबाघ देखा परेको जनाउँदै स्थानीयमा त्रास बढेको बताउनुभयो ।  

उहाँका अनुसार पाटेबाघ लुकेको नर्सरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत अमिलियादेखि राप्तीपारि क्षेत्र हो । त्यसै गरी राप्तीसोनारीको बर्दापुरका स्थानीय बासिन्दा रुद्र ओलीले पनि पाटेबाघ गाउँनजिकैको वनजङ्गलमा निरन्तर देखा परिरहेको जनाउँदै स्थानीयलाई घरबाट निस्कनसमेत समस्या भएको बताउनुभयो । उहाँले दिनहुँ जसो बाघ देखा पर्न थालेपछि स्थानीय बासिन्दा भयभित र आतङ्कित बनेको बताउनुभयो । 

यो क्षेत्रमा बाघ र चितुवाको सम्भावित खतराबाट बच्न स्थानीय बासिन्दाले झाडी, बुट्यान सफाइसमेत गरेको जनाएका छन् । सो क्षेत्रमा बाघलगायतका वन्यजन्तुको आतङ्क बढेपछि बाँके राष्ट्रिय निकुञ्जले निगरानी बढाएको जनाएको छ । 

निकुञ्जका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले स्थानीय बासिन्दाबाट बाघ र चितुवा गाउँनजिक आएको सूचना प्राप्त हुनासाथ त्यस क्षेत्रमा गस्ती र निगरानी बढाइएको बताउनुभयो । उहाँले बाघको आक्रमणबाट मरिचमान भण्डारीको मृत्यु भएको स्थानमा क्यामरा राखेर निगरानी गरिरहेको जनाउँदै सो स्थानमा बाघ नदेखिएको बताउनुभयो । 

जिल्लाको पूर्वी क्षेत्रमा बाघ र चितुवा निरन्तर देखिएको भन्ने जानकारी आएपछि त्यतातिर पनि सुरक्षा निगरानी बढाएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।