घोराही समाचारदाता
घोराही, माघ ७ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले चुनाव लोकतन्त्र पुनर्स्थापना गर्ने माध्यम भएको बताउनुभएको छ । दाङ क्षेत्र नं. २ मा आफ्नो उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोख्रेलले निर्वाचनका माध्यमबाट लोकतन्त्रलाई पुनर्स्थापना गर्ने दिशामा अघि बढाउन महत्वपूर्ण हुने बताउनुभएको हो ।
अहिलेको चुनाव राष्ट्रिय राजनीतिमा सामान्य चुनाव नभएको भन्दै उहाँले लोकतन्त्र पुनस्र्थापना गर्ने जनमतसङ्ग्रह भएको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “भदौ २३ र २४ गते भएका घटनाले मुलुकमा असाधारण क्षति पुगेको छ, ती घटनाका कारण देश अग्रगमनभन्दा पनि प्रतिगमनतर्फ धकेलिएको छ । यस्तो अवस्थालाई सही दिशामा ल्याउन निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने छ ।”
उहाँले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रीडास्थल बनाउने प्रयास भएको उल्लेख गर्दै उहाँले देशलाई अस्थिरतातर्फ लैजाने षड्यन्त्र भइरहेको बताउनुभयो । मुलुक लोकतान्त्रिक अग्रगमनभन्दा प्रतिगमनतर्फ अघि बढेकाले त्यसलाई रोक्न जनताको फैसला आवश्यक रहेको उहाँको भनाइ थियो ।