रमेश विश्वकर्मा
गुल्मी, माघ ७ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाको आयोजनामा भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को प्रतियोगितामा १० स्वर्ण, १२ रजत र ११ कास्य गरी कुल ३३ पदक हात पार्दै रेसुङ्गा माध्यमिक विद्यालयले उपाधि जितेको हो । गतवर्षको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि यस विद्यालय प्रथम भएको थियो ।
रेसुङ्गा नगरपालिकाको पहिलो र पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माध्यामिक विद्यालयले जितेको थियो । द्रोस्रो, तेस्रो र चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धबाबा माध्यमिक विद्यालयले जितेको थियो । यसवर्ष दोस्रो भएको महेन्द्र माध्यमिक विद्यालयले नौ स्वर्ण, आठ रजत र १३ कास्य गरी कुल ३० पदक प्राप्त गरेको हो ।
तेस्रो भएको सिद्धबाबा माध्यमिक विद्यालयले नौ स्वर्ण, चार रजत र पाँच कास्य गरी कुल १८ पदक प्राप्त गरेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने नाराका साथ रेसुङ्गा नगरपालिकाले सुरु गरेको स्थानीय तहस्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १९ विद्यालयले सहभागिता जनाएका थिए ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा छात्र÷छात्र दौड, छात्र÷छात्राबीच कबड्डी, सटफुट, ज्यावलिन–थ्रो, हाइजम्प, भलिबल छात्र र छात्रा, लमजम्प, त्रिपल जम्प, मार्सलआर्टलगायतका खेलमा प्रतिस्पर्धा भएको थियो । खेलमा उत्कृष्ट बन्नुभएका छात्र÷छात्रा खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा विजेता विद्यालय र खेलाडीलाई नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, रेसुङ्गा नगरपालिकाभित्रका वडा अध्यक्ष, कार्यपालिका सदस्यलगायतले सम्मानसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो ।