सुदूरपश्चिम ब्युरो
धनगढी, माघ ७ गते । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका १६ निर्वाचन क्षेत्रमा विभिन्न दलका उम्मेदवारले शान्तिपूर्ण रूपमा आआफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । सुदूरपश्चिममा कैलालीका पाँच, कञ्चनपुरका तीन, अछामका दुई, बाजुरा, डोटी, बझाङ, दार्चुला, बैतडी र डडेलधुरामा एक/एक गरेर १६ निर्वाचन क्षेत्र रहेका छन् ।
कैलाली समाचारदाताका अनुसार यस पटकको निर्वाचनमा २०४८ देखि २०७९ सम्म लगातार सात पटक जित्नुभएका नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट मनोनयन गर्नुभएको छैन । सुदूरपश्चिममा देउवापछिका प्रभावशाली मानिने पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अछाम क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नुभएको छ । अर्का प्रभावशाली नेता नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले कैलाली क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गर्नुभएको छ । कांग्रेसका प्रभावशाली नेता पूर्वसङ्घीय सरकारका मन्त्री एनपी साउदले कञ्चनपुर क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गर्नुभएको छ । यस्तै गरेर सङ्घीय मन्त्री भइसक्नुभएका एमालेका नेताहरू गणेश ठगुन्ना दार्चुला, दामोदर भण्डारी बैतडी, नेकपाका नेता सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट डोटी, सङ्घीय मन्त्री भइसक्नुभएका नेकपाकी नेतृ बिनामगर कञ्चनपुर क्षेत्र नम्बर १, गौरीशङ्कर चौधरी कैलाली क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नुभएको छ ।
अछामबाट डा. रावलले गरे उम्मेदवारी दर्ता
साँफेबगर समाचारदाताका अनुसार सुदूरपश्चिममा देउवापछिका प्रभावशाली मानिने पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अछाम क्षेत्र नम्बर १ बाट उम्मेदवार दर्ता गर्नुभएको छ । २०४८, २०५१, २०५६, २०७० र २०७४ एमालेबाट उम्मेदवार बनेका एमालेका पूर्वउपाध्यक्ष रावलले २०७९ एकल नाम पठाउँदा पनि एमालेबाट उम्मेदवार हुन पाउनुभएको थिएन । यसैबिचमा माओवादी, एकीकृत समाजवादीलगायतका दलबिच एकता भएर बनेको नेकपामा डा. रावल समाहित भएपछि फेरि अछाम १ का उम्मेदवार बन्नुभएको हो । रावलले लडेका पाँच चुनावमध्ये २०४८ र ५६ मा मात्र हार बेहोर्नु परेको थियो ।
मनोनयनपछि पत्रकारसँग कुराकानी गर्दै डा. रावलले स्वाधीनता र स्वतन्त्रता सङ्कटमा परेकाले आफू उम्मेदावार बनेको बताउनुभयो ।
यस्तै नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका भरतकुमार स्वाँरले अछामको विकासका लागि उम्मेदवारी दर्ता भएको बताउनुभयो । उहाँले कांग्रेस एक भएर चुनावी अभियानमा अघि बढेकाे पनि धारणा व्यक्त गर्नुभयो । एमालेबाट उम्मेदवारी बन्नुभएका दीपक साउदले आफू जेनजीको उम्मेदवार भएको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले आफ्नो उम्मेदवारी परिवर्तन चाहने रहेको बताउनुभयो । जनताले अहिले परिवर्तन चाहेका कारण जित सुनिश्चित रहेको बताउनुभयो ।
यस्तै राप्रपाका लोकेन्द्रबहादुर शाह, नेकपा (माओवादी) का लोकेन्द्र शाही, मजदुर किसान पार्टीका सुरेन्द्र शाही र स्वतन्त्रमा भीमबहादुर कुँवरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट आठ दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । सो क्षेत्रबाट कांग्रेसका पार्टी सभापति पुष्पबहादुर शाह, एमालेबाट यज्ञबहादुर बोगटी, नेपाली कम्युनिस्ट पार्टीबाट बलबहादुर कुँवरले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले कांग्रेस परित्याग गरेर नेकपाबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यस्तै गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाहले पनि अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मीनबहादुर शाही, नेकपा माओवादीका शेरबहादुर विश्वकर्मा, मजदुर किसान पार्टीका झङ्कर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै प्रलोपाका पुष्प न्यौपानेले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
११ दलको उम्मेदवारी दर्ता
टीकापुर समाचारदाताका अनुसार प्रतिनिधि सभाको निर्वाचनका लागि कैलाली क्षेत्र नं. १ मा नेपाली कांगे्रसबाट सुदूरपश्चिम प्रदेश कार्यसमितिका उपसभापति तथा पूर्वराज्यमन्त्री जनकराज चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । चौधरी २०७० सालको संविधान सभाको निर्वाचनमा फोरम लोकतान्त्रिकबाट विजयी भई सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री हुनुभएको थियो । एमालेबाट पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य द्वारिकाप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ । न्यौपाने २०७९ सालमा भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा ख मा उम्मेदवार बनेर पराजित हुनुभएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीबाट रामलाल डगौरा थारूको उम्मेदवारी दर्ता भएको छ । तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट २०७९ सालमा टीकापुर नगरपालिकाको प्रमुख निर्वाचित थारू सो पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिलेपछि नगरप्रमुख पदबाट राजीनामा गरी नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कोमल ज्ञवाली सुवेदी उम्मेदवार बन्नुभएको छ । तत्कालीन नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कोषाध्यक्ष ज्ञवाली सो पार्टी नेपाली कम्युनिस्ट पार्टीका मिलेपछि राष्ट्रिय स्वतन्त्र पार्टीतिर लाग्नुभएको हो । यस क्षेत्रमा राप्रपाबाट लोकेन्द्रबहादुर कुँवर र प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीबाट राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. जनकराज शाह उम्मेदवार बन्नुभएको छ ।
कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीका तर्फबाट रेशमलाल चौधरीले पनि उम्मेदवारी दिनुभएको छ । २०७२ सालमा टीकापुरमा भएको घटनाका दोषी ठह¥याएका चौधरी २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । शपथ खाए पनि संसद् भवन छिर्न पाउनुभएको थिएन । यहाँ उज्यालो पार्टी नेपालबाट प्रदीपकुमार चौधरीले उम्मेदवारी दिनुभएको छ । २०७४ सालमा फोरम लोकतान्त्रिकबाट जानकी गाउँपालिकाबाट अध्यक्ष निर्वाचित चौधरी कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेस र २०७८ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीमा लाग्नुभएको थियो यस पटक भने उज्यालो पार्टीको उम्मेदवार बन्नुभएको छ ।
उम्मेदवारी दर्ता गराउनेमा नेपाल मजदुर किसान पार्टीबाट सुनिता भण्डारा, नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट रामबहादुर विश्वकर्मा, श्रम संस्कृति पार्टीबाट विमल थारू, स्वतन्त्र उम्मेदवारका रूपमा सत्यनारायण भट्टराई, रूपा चौधरी, राजेन्द्र शाहीलगायतको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी लक्ष्मी ओडले जानकारी दिनुभएको छ ।
तामझामका साथ उम्मेदवारी दर्ता
घोडाघोडी समाचारदाताका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट भीमबहादुर बडुवाल, नेकपा (एमाले) बाट गौरीशङ्कर चौधरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट वीरमान चौधरी, नागरिक उन्मुक्ति पार्टी नेपालबाट विक्रम चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगतप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरेन्द्रबहादुर बम, राष्ट्रिय जनमोर्चाबाट देशराज चौधरी, मितेरी पार्टी नेपालबाट सुशीला थापाले मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृत पुष्कलराज प्रसाईंले जानकारी दिनुभयो ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा समेत तामझामका साथ प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसबाट विजयबहादुर स्वाँर, नेकपा (एमाले) बाट सूर्यबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीबाट नन्दबहादुर साउद, राष्ट्रिय स्वतन्त्र पार्टीबाट केपी खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरत बिसीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै गरेर कांग्रेसका मोहनसिंह राठौर पनि स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।
नाचगान गर्दै उम्मेदवारी दर्ता
धनगढी समाचारदाताका अनुसार गत भदौमा जेनजीको आन्दोलनपश्चात् पहिलो पटक हुन गइरहेको आमनिर्वाचनका लागि राजनीतिक दलले नाचगान गर्दै उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कैलाली क्षेत्र नम्बर ५ मा तीन स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी परेको छ । प्यारेलाल रानाथारू, ईश्वरी विष्ट र जनकराज पाठकले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसबाट नरनारायण शाह (मनु), नेकपा (एमाले) बाट यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिस्ट पार्टीबाट प्रेम आले, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आनन्दबहादुर चन्दको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका उम्मेदवार शाह आमनिर्वाचनमा पहिलो पटक उम्मेदवार बन्नुभएको छ । क्षेत्र नम्बर ५ मा राप्रपाबाट रोशन शाही, नागरिक उन्मुक्ति पार्टी, नेपालबाट जगन्नाथ चौधरी, राष्ट्रिय जनमोर्चाबाट शोभामणि जोशी, नेपाल मजदुर किसान पार्टीबाट तृष्ण पुनमगरले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसै गरी आमजनता पार्टीबाट देवसिंह विष्ट, मितेरी पार्टी नेपालबाट राधिकाकुमारी कार्की, उज्यालो नेपाल पार्टीबाट चन्द्र साउद र जनमत पार्टीबाट धनबहादुर चौधरीको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिनुभयो ।
यसै गरी कैलाली क्षेत्र नम्बर ४ मा १४ जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले) बाट लेखराज भट्ट, नेपाली कांग्रेसबाट गोरखबहादुर विष्ट (आनन्द), नेपाली कम्युनिस्ट पार्टीबाट हरिराम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद रेग्मीको उम्मेदवारी परेको छ । यसै गरी नागरिक उन्मुक्ति पार्टी, नेपालबाट धनबहादुर सुनार, रापप्राबाट कमल रजवार, नेपाल मजदुर किसान पार्टीबाट अमृता भुल, नेसनल रिपब्लिक नेपालबाट गोपीलाल चौधरी, स्वतन्त्रबाट खम्बबहादुर भट्ट खत्री, मितेरी पार्टी नेपालबाट दिनेशकुमार मल्लको उम्मेदवारी परेको छ । यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट भक्तबहादुर शाही, नेपाल कम्युनिस्ट पार्टी संयुक्तबाट मोहनदेव मिश्र, नेपाल मानवतावादी पार्टीबाट यज्ञबहादुर टमटा, उज्यालो नेपाल पार्टीबाट सुभाष कुँवर, जनमोर्चाबाट हेमराज भट्टको उम्मेदवारी परेको छ ।