अर्जुन कार्की ।
काठेखोला (बागलुङ), माघ ७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ जिल्लामा २३ जनाले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि २ निर्वाचन क्षेत्र रहेको बागलुङमा क्षेत्र नम्बर १ मा ११ जना र क्षेत्र नं. २ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
बागलुङमा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरी संयुक्त उम्मेदवारी दिएका छन् भने नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले भने एकल रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर १ मा नेकपा एमालेका हिराबहादुर केसी, कांग्रेसका भिमबहादुर श्रीस राना, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का, गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै, नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, मंगोल नेशनल अर्गनाइजेशनका गुमाकुमारी बुढा राना मगर, प्रगतिशिल लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेशनल रिपब्लिक नेपालका सहविर थापा, श्रमसंस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का टेकबहादुर क.सी.ले उम्मेदवारी दर्ता गराउनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
बागलुङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका मञ्जु शर्मा चालिसे, कांग्रेसका टेकराज पौडेल, गठबन्धनबाट नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मालगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अञ्चल शाही, श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन, नेकपा माओवादी गुलाब चिन्हबाट लोकेन्द्र घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदम कुँवर, नेपाल मानवतावादी पार्टीबाट टेकप्रसाद कामी, मंगोल नेश्नल अर्गनाइजेसनबाट जुनबहादुर थापा, जनता समाजवादी पार्टीबाट पूर्णबहादुर घर्ती, नेशनल रिपब्लिक पार्टीका नरबहादुर बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राजनीतिक दलहरुले नारा जुलुससहित मुख्य निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए । क्षेत्र नम्बर १ का उम्मेदवारहरुले बागलुङ बजारमा रहेको मुख्य निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका थिए भने क्षेत्र नम्बर २ का उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।