हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ २ गते । भूकम्पबाट सधैँ सतर्क रहनुपर्ने मुस्ताङमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
२८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रमको अवसरमा सदरमुकाम जोमसोममा आयोजित कार्यक्रममा भूकम्पीय जोखिम कम गर्न भूकम्पप्रतिरोधी संरचना निर्माणसँगै नागरिकमा सचेतना आवश्यक रहेको बताइएको थियो ।
विगतमा भूकम्पबाट नेपालीले भोगेका पीडा बिर्संदा थप जोखिम न्यूनिकरणमा समस्या भएकाले जनचेतनामूलक अभियानसँगै मादपण्ड अनुसारको निजी तथा सार्वजनिक संरचना बनाउन सचेत रहनुपर्ने जिल्ला समन्वय मुस्ताङका उपप्रमुख आइतलाल थकालीले बताउनुभएको छ ।
मुस्ताङमा परम्परागत घरहरू भएकाले ४ रेक्टर स्केलभन्दा तलको भूकम्पको धक्का महसुस हुँदा पनि क्षति हुनसक्ने जोखिम भएकाले नयाँ संरचना बनाउँदा भूकम्पबाट जोगिन सरकारी मापदण्ड अनुसार बनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी अजिता शर्माको भनाइ थियो । बालबालिकादेखि वृद्धवृद्धासम्मलाई भूकम्पको जोखिम र सतर्कताका बारेमा नियमित जानकारी गराउनुपर्ने प्रजिअ शर्माले बताउनुभयो । दिवसको अवसरमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
घरपझोङ गाउँपालिकाकी कार्यवाहक अध्यक्ष जमुना थकालीको अध्यक्षतामा भएको कार्यक्रममा भूकम्पले ज्यान गुमाएकाहरुको सम्झना समेत गरिएको थियो । भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धिका लागि तीनै तहका सरकार मातहतका निकायहरुले समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए ।
विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ ।