हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ २ गते । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुस्ताङमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ ।
न्यायाधीश विद्याराज पौडेलले सो कार्यालयको उद्घाटन गर्नुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, सुरक्षा निकायका जिल्ला प्रमुख तथा अन्य सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कार्यालयको उदघाटनको अवसरमा मुख्य निर्वाचन अधिकृत पौडेलले मुस्ताङमा निर्वाचन आयोगको कार्यतालिका अनुसार सम्पूर्ण प्रक्रिया अघि बढाइने बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार तथा नागरिक सबैको सहयोग आवश्यक रहेकाले निर्वाचनसँग सम्बन्धित विभिन्न गतिविधिलाई अगाडि बढाउने मुख्य निर्वाचन अधिकृत पौडेलको भनाइ छ ।
सोही अवसरमा प्रमुख जिल्ला अधिकारी शर्माले निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष हुने विश्वास दिलाउँदै शान्तिपूर्ण र सुरक्षित निर्वाचन सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । जिल्ला निर्वाचन अधिकृत लोकेन्द्र ज्ञवालीले जिल्लाभित्रका मतदानस्थलसहित हालसम्म गरिएको कार्यका बारेमा जानकारी गराउनुभएको थियो ।
अत्याधिक चिसोका कारण उपल्लो मुस्ताङका अधिकांश बस्ती खाली भएको र तल्लो क्षेत्रका बासिन्दा समेत जाडो छल्न बेसी झरेको अवस्थामा फागुन महिनामा मतदाता फर्किएपछि गाउँमा चलपहल हुन्छ भने उम्मेदवारले मनोनयनपत्र दर्ता गरेपछि मतदाता भेटघाटका लागि समेत जिल्ला बाहिर जान्छन् ।
मुस्ताङ जिल्लाको थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेको छ ।