• २ माघ २०८२, शुक्रबार

विशेष महाधिवेशनमा नाम भएकामध्ये ८८५ जना हस्ताक्षरकर्ता फर्किनुभएको छ: पूर्णबहादुर खड्का

blog

फाइल तस्बिर ।

काठमाडाैं, माघ २ गते । नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताउनुभएको छ । 

शुक्रवार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुग्नुभएका कार्यवाहक सभापति खड्काले यस्तो बताउनुभएको हो । 

उहाँले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८ सय ८५ हस्ताक्षरकर्ताले हस्ताक्षर फिर्ता लिएको बताउनुभयो । हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाउनुभएको बताउनुभयो । विशेष महाधिवेशन भेलाभन्दा पहिला र पछिको हस्ताक्षर आफूहरुसँग रहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘हस्ताक्षरकर्ता, सहभागी कर्ता भन्नेखालको कुरा आएको छ । ती हस्ताक्षरकर्ता सहभागीमध्ये ८ सय ८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ । मुख्यसचिवले भेलाभन्दा पहिलाको पनि र पछिको पनि हस्ताक्षर छ भन्नुभएकाे छ ।’

गगन थापा नेतृत्वको नेपाली काँग्रेसले विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ ।