• २ माघ २०८२, शुक्रबार

कम्बल वितरण सुरु

blog

प्रमुख अतिथि नवीना खत्री कार्कीसहित प्रहरी महानिरीक्षक दानबहादुर कार्की न्यानो कम्बल वितरण गर्नुहुँदै । तस्बिर : शिवशङ्कर मिश्र

कन्हैयालाल केशरी 

पर्सा, माघ २ गते । ‘दाताले दिएको कम्बल भ-याङमुनि’ शीर्षकमा गत पुस ३० गते गोरखापत्रमा समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार दिउँसोदेखि कम्बल वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साका भण्डार शाखा प्रमुख ब्रह्मदेव यादवले दाताले दिएको कम्बल बुधबार दिउँसोदेखि पर्साको धोबिनी गाउँपालिकाबाट वितरण गर्न सुरु गरिएको बताउनुभयो । उहाँले ६० वटा कम्बल वितरण भएको र यसलाई निरन्तरता दिइने जानकारी दिनुभयो । मधेश प्रदेश सरकार र अन्य दाताले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत वितरण गर्न दिएको कम्बल जिल्ला प्रशासन कार्यालय पर्साको भ-याङमुनि विगत १० दिनदेखि थन्किएको थियो । जाडो र चिसोबाट गरिब, निसहाय र दिनदुखीलाई जोगाउन मधेश प्रदेश सरकारले पाँच सय थान कम्बल वीरगन्ज उद्योग वाणिज्य सङ्घले ३५० थान र अन्य दाताले करिब ५० थान कम्बल जिल्ला प्रशासन कार्यालय पर्सालाई उपलब्ध गराएको थियो । 

यसैबिच कलैया समाचारदाताका अनुसार नेपाल प्रहरी श्रीमती सङ्घले बिहीबार बाराको महागढीमाई नगरपालिकाका अति विपन्न, एकल महिला, अपाङ्गता तथा दलित समुदायका करिब २३० जनालाई कम्बल वितरण गरेको छ । नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नवीना खत्री कार्कीले अति विपन्न समुदायका व्यक्तिलाई न्यानो कपडा वितरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । 

कार्यव्रmममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीसँग कसैले डराउन नपर्ने भन्दै प्रहरीलाई आफ्नै परिवारको सदस्य सम्झन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “समाजमा गलत, खराब तथा आपराधिक गतिविधिमा संलग्न व्यक्ति देखेमा प्रहरीलाई खबर गरी सहयोग गर्ने गर्नुहोस् । घरसमाजमा कुनै समस्या परे सिधै प्रहरी कार्यालयका प्रमुखलाई भेटेर गुनासो तथा पीडा राख्न सकिन्छ ।” उहाँले सर्वसाधारणलाई प्रहरीसमक्ष पुग्न कुनै दलाल आवश्यक नपर्ने, निवेदन दिन वा टिकटको समेत कुनै शुल्क नलाग्ने स्पष्ट पार्नुभयो ।