गुलरिया समाचारदाता
गुलरिया (बर्दिया), माघ २ गते । बर्दियाको बढैयातालमा सारसको सङ्ख्या बढेको छ । गत वर्ष तीन वटा सारस भेटिएकोमा यस वर्ष बढैयातालमा सात वटा सारस फेला परेका छन् । सारसले बच्चा जन्माएको र अन्य स्थानबाट बसाइँ सरेर आएका हुनाले सारसको सङ्ख्या बढेको हो ।
गत सोमबार र मङ्गलबार गरिएको जलपन्छी गणनामा दुई बच्चासहित सात वटा सारस फेला परेका हुन् । बढैयातालमा गत वर्षको तुलनामा आगन्तुक जलपन्छीको सङ्ख्या घटे पनि सारसको सङ्ख्या बढेको हो । जोखिमपूर्ण वासस्थान हुँदाहुँदै पनि सारसको सङ्ख्यामा वृद्धि हुनु सकारात्मक भएको पन्छीविद् सङ्घका केन्द्रीय सदस्य रामबहादुर शाहीले बताउनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ ले सारसलाई संरक्षित पन्छीको सूचीमा राखेको छ । उड्ने पन्छीमध्ये सबैभन्दा अग्लो चरा सारस पाँच फिटसम्म अग्लो हुन्छ । सारसको तौल ३.५ किलोग्रामसम्म हुन्छ । बढैयातालमा सारसको सङ्ख्या बढे पनि अरू पन्छीको सङ्ख्या र प्रजाति घटेको देखिएको केन्द्रीय सदस्य शाहीले बताउनुभयो । पिकनिक खानेको सङ्ख्यामा वृद्धि, मानिस, सवारीसाधनको उपस्थिति बढ्दै गएको, जथाभाबी माछा मार्ने गरेका हुनाले आगन्तुक र रैथाने चराको सङ्ख्या घट्दै गएको उहाँले बताउनुभयो । शाहीका अनुसार गेरुवा र कर्णाली नदीमा जथाभाबी नदीजन्य पदार्थ उत्खनन गरिएको हुनाले जलपन्छीको सङ्ख्या घट्दै गएको हो । उहाँले भन्नुभयो, “यस वर्ष बर्दियाका धेरै स्थानमा जलपन्छीको सङ्ख्या घटेको अनुमान छ ।”
हरेक वर्ष बर्दियामा जलपन्छी गणना गरिँदै आएको छ । बर्दियाको नदी, तालतलैयामा जलपन्छी गणना गरिएको हो । जलपन्छी गणनामा चरा र चराको वासस्थानको अवलोकन गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बर्दियामा बढी जसो आगन्तुक चरा पाइने स्थान कर्णाली, गेरुवा र बबई नदी, बढैयाताल, सतखलुवाताललगायतका क्षेत्रमा जलपन्छी गणना गरिएको बताउनुभयो । उहाँले पन्छी गणनासँगै गणकहरू माघी मनाउन व्यस्त भएका हुनाले शुव्रmबार मात्र जलपन्छी गणनाको परिणाम सार्वजनिक हुने बताउनुभयो ।
जलपन्छी गणनाका लागि ६० जनाको सहभागिता रहेको थियो । गत वर्ष पनि बर्दियामा जलपन्छी गणना गरिएको थियो । गत वर्षको चरा गणनामा बर्दियामा तीन हजार ८८९ वटा जलचरा भेटिएका थिए । जसमध्ये बढैयातालमा सबैभन्दा बढी दुई हजार १४९ वटा, कर्णाली नदीमा ९१८ र गेरुवा नदीमा ८२२ वटा फेला परेका थिए । यस वर्षको तथ्याङ्क भने निस्किसकेको छैन ।