लीलाराज खड्का
बिर्तामोड, मााघ २ गते । झापा बिर्तामोड नगरपालिका–५ सिटी सेन्टर अगाडि पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् ।
बिहीबार राति बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना ८ ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको (नम्बर नखुलेको) मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक हल्दिवारी गाउँपालिका –४ का ३२ वर्षीय खगेन्द्र मगर र पछाडि सवार उनकी २५ वर्षीया श्रीमती सुकमाया तामाङ गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ । घाइते दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल ल्याइएको थियो ।
उपचारकै क्रममा राति करिब ९ बजे श्रीमान खगेन्द्र मगरको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । श्रीमती सुकमाया तामाङको टाउकोमा गम्भीर चोट लागेको र उहाँको उपचार जारी रहेको छ ।
दुर्घटनापछि भएको आगलागी प्रहरी तथा बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा साँझ करिब ८ः३० बजे नियन्त्रणमा लिइएको थियो । ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको छ भने जलेको मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा राखिएको छ ।
दुर्घटनामा संलग्न ट्रक चालक घटनापछि फरार रहेकाले खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।