• २ माघ २०८२, शुक्रबार

निर्वाचन कार्यालयद्वारा छलफल

blog

निर्वाचनको विषयमा आयोजित छलफल कार्यक्रमका सहभागी । तस्बिर : केदार तिमल्सिना

बनेपा समाचारदाता 

बनेपा (काभ्रेपलाञ्चोक), माघ २ गते   । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा रहेका सरोकारवाला निकायसँग छलफल सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले आगामी निर्वाचनलाई लक्षित गर्दै हालसम्म भएका गतिविधिकाबारेमा जिल्लास्थित सरोकारवाला निकायलाई जानकारी गराएको हो । 

जिल्ला निर्वाचन अधिकारी दिनेश सिवाकोटीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान स्थलको पुनरवलोकन गर्ने, मतदान स्थल, मतदान केन्द्र तोक्ने काम भइसकेको बताउनुभयो । उहाँले आगामी निर्वाचनका लागि तीन लाख २६ हजार ६११ मतदाता कायम रहेको र त्यसमा एक लाख ५९ हजार ११० महिला, एक लाख ६७ हजार ४९९ पुरुष र दुई जना अन्य मतदाता रहेको बताउनुभयो । 

उहाँले निर्वाचनका लागि अस्थायी मतदाता (समानुपातिकमा मतदान गर्ने) कर्मचारीको विवरण सङ्कलन तथा निर्वाचनमा खटाइने कर्मचारीको लगत लिने काम भइरहेको जानकारी दिनुभयो । जिल्लाको तेमाल गाउँपालिका–७ स्थित भुमेश्वर आधारभूत विद्यालयको भवन निर्माणको काम भइरहेकाले उक्त स्थानको मतदान स्थल र मतदान केन्द्र स्थानान्तरणका लागि विद्यालयबाट अनुरोध आएको बताउनुभयो । कार्यक्रममा काभ्रेपलाञ्चोकका मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले सबै निकायसँग समन्वय गरेर निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गरिने भन्दै शुव्रmबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले निर्वाचन सम्पन्न गर्नका लागि जनप्रतिनिधिले आफ्नो स्थानबाट समन्वय र सहजीकरण गर्ने बताउनुभयो । उहाँले निर्वाचनको समयमा जनप्रतिनिधिलाई बोल्न बाध्य नपार्न राजनीतिक दललाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले निर्वाचनका लागि एकीकृत जिल्ला सुरक्षा रणनीति तयार गरी काम सुरु गरिएको उल्लेख गर्नुभयो ।

जिल्ला सुरक्षा समितिले जिल्लामा रहेका सबै मतदान स्थल तथा केन्द्रको अनुगमन गरिने, निर्वाचन बिथोल्न नदिनका लागि कर्मचारी खटाउने व्रmममा ध्यान दिइने बताउनुभयो । प्रजिअ अधिकारीले राजनीतिक दलले कार्यक्रम सञ्चालन गर्नु पहिलो सुरक्षा निकायलाई जानकारी दिनुका साथै आचारसंहिता पालना गर्न सबैलाई आग्रह गर्नुभयो । 

कार्यव्रmममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष राजन भुर्तेलले आचारसंहिताको पूर्ण पालना गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचनको समयमा शान्तिसुरक्षा चुस्त, प्रभावकारी, स्वच्छ र निष्पक्ष गराउनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव जिएन सापकोटाले निर्वाचनमा हुने डर, धम्की, आचारसंहिता उल्लङ्घनतर्फ प्रशासनले कडाइ गर्नुपर्ने बताउनुभयो । नेकपा मालेका प्रदेश सदस्य गणेश कपालीले निर्वाचनको समयमा ठुला राजनीतिक दलबाट आचारसंहिता उल्लङ्घन हुने गरेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले  निर्वाचनका गतिविधि तथा अन्य विषयमा सञ्चार क्षेत्रलाई सूचना प्रवाह गर्नका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा सूचना डेस्क राख्न अनुरोध गर्नुभयो ।