टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), माघ १ गते । गुल्मीमा निर्वाचन प्रहरीको पहिलो भर्ना अवधीभित्र बाह्र सय ५९ जनाको आवेदन दर्ता भएको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एक हजार ८७४ निर्वाचन प्रहरी भर्ना आव्हान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मी र सशस्त्र प्रहरी वल, नेपाल नं ३७ गुल्मीमार्फत दरखास्त माग गरिएको छ ।
नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालयसहित इलाका प्रहरी कार्यालय रिडी र पुकोट दहबाट समेत दरखास्त दिन सकिने व्यवस्था गरेको छ । जिल्ला प्रहरी कार्यालयतर्फ एक हजार ६९५ माग संख्यामा पुस २५ देखि माघ १ गतेसम्म ९०२ पुरुष र २२६ महिला गरेर एघारसय २८ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
जसमा पूर्व सेना १६, पूर्व प्रहरी दुई र पूर्व म्यादी १८९ जना रहेका छन् । सशस्त्र प्रहरीका लागि १७९ जना निर्वाचन प्रहरी माग गरिएकोमा अहिलेसम्म ११८ पुरुष र १३ महिला गरेर १३१ जनाले आवेदन दिएका छन् ।
जसका पूर्व प्रहरी दुई र पूर्व म्यादी आठ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय तर्फको विवरणअनुसार महिला निर्वाचन प्रहरीको लागि मागभन्दा कम आवेदन परेको छ । अहिलेसम्म ६७६ माग संख्यामा २२६ जनाले मात्र निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । नेपाल प्रहरीमा पुरुष एक हजार १९ र महिला ६७६ जनाको लागि दरखास्त माग गरिएको छ ।
२०७९ सालको निर्वाचनमा पुरुष एक हजार १३२ र महिला ३२८ गरेर एक हजार ४६० जना म्यादी प्रहरी भर्ना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक सारुले बताउनुभयो । २०७९ सालको निर्वाचनमा भन्दा अहिले ४१४ बढि निर्वाचन प्रहरी माग भएको छ । निर्वाचन प्रहरीको लागि दुई दिन समय थप गरिएको छ ।
गुल्मीमा दुई लाख २९ हजार ५४९ मतदाता कायम भएको छ । गुल्मीमा १४५ मतदान स्थल र २८४ मतदान केन्द्र रहेका छन् । अहिले जिल्लामा तीन मतदान स्थल थपिएका थिए । गुल्मीमा रहेका १४५ मतदान स्थलमध्ये ४८ मतदान स्थल अति संवेदनशील रहेका छन् । ती मध्ये ५७ मतदान स्थल संवेदनशील र ४० मतदान स्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो ।