कविराज घिमिरे
हिले, माघ १ गते । धनकुटाको चौबिसे गाउँपालिकामा सम्पन्न तेस्रो त्रिवेणी कप पुरुष भलिवल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ।
चौबिसे गाउँपालिका वडा नं. ४ र ५ को संगमस्थलस्थित हंसमोरङमा बिहीबार सम्पन्न फाइनल खेलमा कोशी प्रदेश प्रहरीलाई पराजित गर्दै आयोजक त्रिवेणी खेलकुद समितिीले उपाधि जितेको हो।
फाइनल खेलमा त्रिवेणीले कोशी प्रदेश प्रहरीलाई २३–२५, २५–२२, २१–२५, २५–२१ र १५–७ को सेटमा हराउदै उपाधि जितेको हो।
विजेता आयोजक त्रिवेणी खेलकुद समितिले उपाधिसँगै नगद एक लाख ११ हजार एक सय ११ रुपियाँ हात पारेको छ भने उपविजेता कोशी प्रदेश प्रहरीले ६६ हजार छ सय ६६ रुपैयाँमा चित्त बुझाएको छ।
कोशी प्रदेशका ६ टिमको सहभागीता रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक त्रिवेणी खेलकुद समितिका प्रदिप कटेल घोषित हुनुभयो ।
उहाँले नगद २ हजार ५ सय रुपैयाँ हात पार्नुभयो । यस्तै उत्कृष्ट लिब्रो कोशी प्रहरीका युगल मगर, उत्कृष्ट सटर आयोजकको जितेश राई, उत्कृष्ट ब्लकरमा कोशी प्रहरीका ऋषि घिमिरे, उत्कृष्ट स्पाइकर आयोजकको रविन गौतम घोषित हुनुभयो ।
उहाँहरुले जनही नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । विगत तीन वर्षदेखि सुरु भएको प्रतियोगिताको यो पटक तेस्रो संस्करण त्रिवेणी खेलकुद विकास समितिको आयोजनामा भएको आयोजक समितिका संयोजक रोशन भण्डारीले जानकारी दिनुभयो ।