ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ १ गते। म्याग्दीको बेनीमा कृषि उपजको बजारीकरण र प्रवर्धन टेवा पुर्याउने उद्देश्यले कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ। बेनीमा जारी ११ औं माघे सङ्क्रान्ति मेलाको अवसरमा जिल्ला कृषि विकास कार्यालय र महिला उद्यमी विकास समितिको संयुक्त आयोजनामा कृषि मेला प्रदर्शनी गरिएको हो।
प्रदर्शनीमा जिल्लाका ६ वटै स्थानीय तहका किसानले उत्पादन गरेका कृषि उपज तथा फलफूल प्रजातिका उत्पादन कृषि प्रदर्शनीमा राखिएको छ। कृषि प्रदर्शनी मेलामा ५० जना भन्दा बढी कृषकले सहभागिता जनाएको कृषि विकास कार्यालय म्याग्दीका सहायक प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिनु भयो।
उहाँका अनुसार मेलामा स्थानीय जातको मुला, फर्सी, काउली, बन्दागोभी, केरा, साग, सिताके च्याउ, आलु, सुन्तला लगायतका कृषि उपज प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीमा राखिएका कृषि उपजको मूल्याङ्कन गरेर उत्कृष्ट किसानलाई पुरस्कृत गरिने कार्यालयले जनाएको छ।
जिल्लामा उत्पादन हुने रैथाने बालीको संरक्षण, कृषि उपज तथा फलफूलको प्रदर्शनी र स्थानीय कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको कृषि विकास कार्यालयका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनु भयो।