देवराम यादव
सप्तरी, पुस ३० गते । सप्तरीको राजगढ गाउँपालिकाले २ सय ५५ जना असहाय र अपाङ्गहरूलाई फाइबरको सिरक वितरण गरेको छ । राजगढ गाउँपालिकाको आयोजनामा वडा १ देखि ६ सम्मको अपाङ्ग र असहायहरूलाई फाइबर सिरक वितरण गरेको हो ।
फाइबर सिरक वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले चिसोका कारण कुनै पनि जेष्ठ नागरिक शीतलहरको पिडामा नपरुन भन्ने उद्येश्यले फाइबर सिरक वितरण गरेको बताउनु भयो । उहाँले असहाय विपन्न वर्गको संरक्षण गर्नु हाम्रो दायित्व भएकोले चिसौ मौसममा जेष्ठ नागरिकहरूलाई स्वास्थ्यको जोखिम र हेरचाहका आवश्यकतालाई ध्यानमा राखी न्यानो हुने गरी फाइबर सिरक वितरण गरिएको बताउनु भयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झाले फाइबर सिरक वितरण कार्यक्रम अन्तर्गत “क” र “ख” वर्गको अपाङ्ग तथा असहाय नागरिकहरूलाई सहयोग पालिकाद्वारा गरेको बताउनु भयो।
गाउँपालिका प्रमुख ओम प्रकाश मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रेणुदेवी मण्डल, प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झा, अपाङ्ग समन्वय समिति सदस्य रामचन्द्र यादव, सेभ द नेपाल सप्तरीको जिल्ला संयोजक विरेन्द्रकुमार साह सहित पालिकाका सम्पुर्ण शाखाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।