• ३० पुस २०८२, बुधबार

कालीगण्डकी र त्रिशुलीको बेणीमा मकरसङ्क्रान्ति मेला

blog

मकरसङ्क्रान्तिको अवसरमा देवघाट मेलामा भक्तजन । तस्बिरः शान्ता अधिकारी

शान्ता अधिकारी

देवघाट (चितवन), पुस ३० गते । पवित्र तीर्थस्थल देवघाटमा बुधबार बिहान विधिपूर्वक मकरसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । कालीगण्डकी र त्रिशुली नदीको सङ्गमस्थल बेणीमा लिङ्गो गाडेर विधिवतरूपमा मकरसङ्क्रान्ति स्नान एवं मेला सुरु भएको शुभारम्भ गरिएको हो ।

गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरीजी महाराज, गलेश्वर आश्रमका पिठाधीश महामण्डेश्वर आत्मानन्द गिरी, हरिहर आश्रमका पीठाधीश ज्ञानानन्द गिरी महाराज, महेश सन्न्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरीलगायत सन्त महन्त, बटुकको सामूहिक स्वस्ति वाचनसहित लिङ्गो गाडिएको हो ।

लिङ्गो गाडनुपूर्व गलेश्वर आश्रममा भेला भएर विधिपूर्वक लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो । सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारी, कार्यकारी निर्देशक सदन बराल र सदस्यहरूसहितको टोली नदी बेणीमा पुगेको थियो । 

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालका अनुसार यस वर्ष विधिवतरूपमा मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउने क्रम सुरु भएको छ । प्रत्येक वर्ष माघे सङ्क्रान्तिको अवसर पारेर देवघाटमा पाँच लाखभन्दा बढी श्रदालु भक्तजन आउने अनुमान गरिन्छ । यो सङ्ख्यामध्ये तीन लाख माघे सङ्क्रान्तिकै दिन देवघाट आउने गरेको अनुमान छ ।

समितिले यस पटक देवघाट मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगर, ठिमुरा, दासढुङ्गा र कालीगण्डकी पुलबाट प्रवेश र आँपटारीबाट बाहिरिने रुट बनाएको छ । पुसको अन्तिम रात देवघाट क्षेत्रमा पुग्ने भक्तजन जाग्राम बस्ने प्रचलन छ । शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । 

सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । यसैबिच मेलालाई व्यवस्थित गर्न देवघाट क्षेत्र विकास समितिले स्थानीय प्रशासन र पालिकासँग समन्वय गरिसकेको बताइएको छ । कार्यकारी निर्देशक बराल भक्तजन एवं तीर्थयात्रीमा निवेदन गर्दै भन्नु हुन्छ, ‘सवारी साधन सञ्चाल मार्ग एकातर्फी भएकाले सोही अनुसार आवत– जावत गरौं ।’ 

समितिका अध्यक्ष डा. लौडारीले डुङ्गाबाट वारपार गर्दा लाइफज्याकेट अनिवार्य प्रयोग गर्न तीर्थयात्रीमा अनुरोध गर्नु भयो भने क्षमताभन्दा बढी यात्रु डुङ्गामा नराख्न डुङ्गा चालकलाई जानकारी गराउनु भयो । यसपटक देवघाट क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको हुँदा प्लास्टिकजन्य सामग्रीको प्रयोग नगर्न भनिएको छ ।