ललितपुर, पुस ३० गते । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा सुरु भएसँगै विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन भएको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयनपत्र दर्ता प्रक्रिया पूरा भएकाले थप प्रक्रिया अगाडि बढाउन थप निर्वाचन कार्यतालिका संशोधनसहित प्रकाशित भएको हो ।
संशोधित कार्यतालिका अनुसार नामावली प्रकाशन ४ बजे, दाबी विरोध ४ बजेदेखि ४ः३० सम्म, छानबिन ४ः३० देखि ५ बजेसम्म, पुन नामावली प्रकाशन ५ बजेर ५ मिनेटमा हुनेछ भने उम्मेदवारको मनोनयन फिर्ताका लागि ५ः५ देखि ५ः३० सम्मको समय दिइएको छ । अन्तिम उम्मेदवारको नामावली प्रकाशन ६ बजे हुनेछ भने मतदान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति छ ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा जारी विशेष महाधिवेशन रोक्न छलफल जारी राखेको संस्थापन पक्षले लामो मिहिनेतपछि केन्द्रीय समिति बैठक राखेको हो । बैठकमा विशेष महाधिवेशनमा सहभागी सदस्य भने उपस्थित भएका छैनन् ।