• ३० पुस २०८२, बुधबार

चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा

blog

हङकङ, पुस ३० गते । चीनको व्यापार अधिशेष सन् २०२५ मा करिब १२ खर्ब अमेरिकी डलरको ऐतिहासिक रेकर्डमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । बुधबार सार्वजनिक गरिएको विवरण अनुसार संयुक्त राज्य अमेरिकामा निर्यात सुस्त भए पनि अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार हुँदा समग्र अधिशेष उल्लेखनीय रूपमा बढेको हो ।

चिनियाँ भन्सार प्रशासनका अनुसार सन् २०२५ मा चीनको कुल निर्यात ५.५ प्रतिशतले बढेर ३७ खर्ब ७० अर्ब डलर पुगेको छ । यस अवधिमा आयात भने घटेर २५ खर्ब ८० अर्ब डलरमा सीमित रह्यो । यस अघिको वर्ष सन् २०२४ मा चीनको व्यापार अधिशेष नौ खर्ब ९२ अर्ब डलर भन्दा केही बढी थियो ।

डिसेम्बर महिनामा चीनको निर्यात डलरको आधारमा अघिल्लो वर्षको तुलनामा ६.६ प्रतिशतले वृद्धि भएको देखिएको छ, जुन अर्थशास्त्रीको अनुमान भन्दा राम्रो र नोभेम्बरको ५.९ प्रतिशतको वार्षिक वृद्धि दर भन्दा उच्च हो । सोही महिनामा आयात पनि उल्लेख्य रूपमा बढ्दै नोभेम्बरको १.९ प्रतिशतको तुलनामा ५.७ प्रतिशतले वृद्धि भएको छ । चीनको व्यापार अधिशेषले नोभेम्बरमै पहिलो पटक १० खर्ब डलरको सीमालाई पार गरेको थियो । 

गत वर्षको पहिलो ११ महिनामै व्यापार अधिशेष १० खर्ब ८० अर्ब डलर पुगेको तथ्याङ्कले देखाउँछ । व्यापारिक घर्षण र भूराजनीतिक तनावका बाबजुद पनि सन् २०२६ मा निर्यातले चीनको अर्थतन्त्रलाई टेवा दिइरहने अर्थशास्त्रीको अनुमान छ । बिएनपी परिबासकी प्रमुख चिनियाँ अर्थशास्त्री ज्याकलिन रोङले सन् २०२६ मा पनि निर्यातले आर्थिक वृद्धिको प्रमुख चालकको भूमिका खेल्ने अपेक्षा कायमै रहेको बताउनु भएको छ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि चीन र संयुक्त राज्यबिचको व्यापार युद्ध चर्किदै जाँदा अमेरिकी बजारतर्फ चीनको निर्यात गत वर्षको अधिकांश समय घट्दो रह्यो । सन् २०२५ मा अमेरिका तर्फको निर्यात करिब २० प्रतिशतले घटेको देखिन्छ । यद्यपि दक्षिण अमेरिका, दक्षिणपूर्वी एसिया, अफ्रिका र युरोपका अन्य बजारमा निर्यात विस्तार हुँदा उक्त गिरावट धेरै हदसम्म सन्तुलनमा आएको छ ।

आँकडा अनुसार सन् २०२५ मा अफ्रिकातर्फ चीनको निर्यात २६ प्रतिशतले बढेको छ । दक्षिणपूर्वी एसियाली देशमा १३ प्रतिशत, युरोपेली सङ्घ (इयु) मा ८ प्रतिशत र ल्याटिन अमेरिकामा ७ प्रतिशतले निर्यात वृद्धि भएको छ । विश्लेषकका अनुसार कम्प्युटर चिप्स, विद्युतीय उपकरण तथा ती उत्पादनमा प्रयोग हुने सामग्रीको बलियो विश्वव्यापी मागले चीनको निर्यातलाई समर्थन गरेको छ । 

यसका साथै गत वर्ष चीनको कार निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको थियो । बलियो निर्यात प्रदर्शनले चीनको अर्थतन्त्रलाई वार्षिक करिब ५ प्रतिशतको आधिकारिक वृद्धि दर लक्ष्य नजिक पुर्‍याउन मद्दत गरेको छ । तर सस्तो चिनियाँ वस्तुको बाढीले स्थानीय उद्योगलाई असर गर्न सक्ने चिन्ताका कारण केही मुलुकमा चेतावनी र चासो पनि बढेको छ । चिनियाँ भन्सार प्रशासनका उपमन्त्री वाङ जुनले सन् २०२६ मा चीनले ‘गम्भीर र जटिल’ बाह्य व्यापार वातावरणको सामना गरिरहेको बताउनु भयो । 

तथापि उहाँले चीनको विदेशी व्यापारका आधारभूत संरचना अझै बलियो रहेको स्पष्ट पार्नु भयो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का प्रमुखले गत महिना चीनलाई आर्थिक असन्तुलन समाधान गर्न, घरेलु माग र लगानीलाई प्रोत्साहन गर्दै निर्यातमा अत्यधिक निर्भरताबाट बाहिर निस्कन सुधारको गति तीव्र बनाउन आग्रह गर्नु भएको थियो ।

चीनमा लामो समयदेखि चलिरहेको रियल स्टेट क्षेत्रको मन्दीले उपभोक्ताको विश्वास र घरेलु मागलाई अझै प्रभावित गरिरहेको छ । अत्यधिक ऋण लिँदा धेरै डेभलपर डिफल्टमा गएपछि यस क्षेत्रको समस्या गहिरिएको हो । चिनियाँ नेताले उपभोक्ता र व्यवसायको खर्च वृद्धि आर्थिक नीतिको केन्द्रमा राखेका छन् । पछिल्ला महिनामा सरकारले ट्रेड-इन अनुदान कार्यक्रम ल्याएर उपभोक्तालाई नयाँ, ऊर्जा-कुशल घरेलु उपकरण र सवारी साधन खरिद गरी पुराना मोडेल प्रतिस्थापन गर्न प्रोत्साहन गरेको छ । 

तर यी उपायको प्रभाव अहिलेसम्म सीमित देखिएको छ । बिएनपी परिबासकी रोङका अनुसार घरेलु मागको वृद्धि सन् २०२६ मा पनि सुस्त नै रहने सम्भावना छ । उहाँले विशेष गरी उपभोक्ता वस्तुका लागि वित्तीय अनुदान कार्यक्रम गत वर्षको तुलनामा कमजोर देखिएको उल्लेख गर्नु भयो ।

फ्रान्सेली लगानी बैँक नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री ग्यारी एनजीले सन् २०२६ मा चीनको निर्यात करिब ३ प्रतिशतले मात्र बढ्ने अनुमान गर्नु भएको छ । यो सन् २०२५ को ५.५ प्रतिशतभन्दा कम हो । आयात वृद्धिदर सुस्त रहने सम्भावनासँगै चीनको व्यापार अधिशेष यस वर्ष पनि १० खर्ब डलरभन्दा माथि रहने उहाँको अपेक्षा रहेको छ । रासस/एपी