• ३० पुस २०८२, बुधबार

गलत प्रवृत्तिले सूचनाको हकको प्रयोगमा चुनौती : प्रमुख आयुक्त डा. आचार्य

blog

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख सूचना आयुक्त डा. आचार्य । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), पुस ३० गते । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्यले गलत नियतले सूचना माग्ने प्रवृत्ति बढ्दै गएको बताउनु भएको छ । दुःख दिने नियतले सूचना माग्ने प्रवृत्तिले सूचनाको हकको प्रयोगमा चुनौती देखिएको बताउनु भएको हो ।

प्राप्त सूचनाको गलत प्रयोग भएको पाइएमा आयोगले कारबाही समेत गर्दै आएको बताउनु भयो । रामपुर नगरपालिकामा भएको सूचनाको हक सम्बन्धी अन्तरक्रियामा कार्यक्रममा बोल्दै आचार्यले एउटा प्रयोजनका लागि सूचना माग्ने तर त्यसलाई अर्कै प्रयोजनमा प्रयोग गर्ने प्रवृत्ति बढेको उल्लेख गर्नु भयो । सूचना माग गर्दा स्पष्ट प्रयोजन खुलाएर निवेदन दिएमा कानुनले दिन मिल्ने सूचना उपलब्ध गराउन सहज हुने उहाँको भनाइ छ ।

सूचनाको हक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै उहाँले सूचनादिने संस्कृतिको जगेर्ना गर्न सबै पक्ष जिम्मेवार हुनु पर्ने बताउनु भयो । लोकतन्त्रको सुन्दर पक्षका रूपमा सूचनाको हकलाई चित्रण गर्दै आचार्यले रितपूर्वक माग गरिएका सूचना उपलब्ध गराउनु सूचना अधिकारीको कर्तव्य भएको बताउनु भयो । कानुन अनुसार गोप्य राख्नुपर्ने सूचना बाहेक सार्वजनिक सरोकारका सबै सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउनु भयो । उहाँले रितपूर्वक माग गरिएका सूचना नदिए सम्बन्धित पदाधिकारी वा सूचना अधिकारीलाई २५ हजार रुपियाँसम्म जरिवानाको कानुनी व्यवस्था रहेको जानकारी गराउनु भयो ।

पारदर्शिता नै लोकतन्त्रको आत्मा भएको भन्दै सार्वजनिक निकायलाई जिम्मेवार बनाउन आयोगले सरोकारवाला निकायसँग समन्वय गरिरहेको पनि उहाँले बताउनु भयो । कार्यक्रममा आयोगका आयुक्त गगन विष्टले सूचनाको हक नागरिकको मौलिक हक मात्र नभई सार्वजनिक निकायको सुशासन, पारदर्शिता र जवाफदेहिता सँग प्रत्यक्ष रूपमा जोडिएको बताउनु भयो । रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले सूचनाको सही सदुपयोग नहुँदा समस्या देखिएको उल्लेख गर्दै सूचनाको गलत प्रयोग गर्नेलाई कारबाही गर्नु पर्नेमा जोड दिनु भयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले कार्यालयमा अधिकांश सूचना मौखिक रूपमा माग हुने गरेको जानकारी गराउनु भयो । सूचनाको हक प्रयोग गरी आउने निवेदनमा व्यक्तिको नियत स्पष्ट नहुँदा कहिलेकाहीँ समस्या देखिने गरेको समेत बताउनु भयो ।