बिकास अधिकारी
पश्चिम नवलपरासी, पुस ३० गते । पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी मिल इन्दिरा सुगर एण्ड एग्रो इन्डष्ट्रिज प्रा.ली हालसम्म सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् । उखु क्रसिङको मध्य सिजन चलिरहँदा जिल्लाका अन्य चिनी उद्योग सञ्चालनमा आएपनि इन्दिरा हाल सम्म सञ्चालनमा आउन सकेको छैन् भने किसानको बाँकी बक्यौता समेत भुक्तानी गरेको छैन । उद्योग सञ्चालक नै सम्पर्कविहीन भएकाले यस वर्ष उद्योग सञ्चालनको सम्भावना समेत छैन् । उद्योग सञ्चालक भारतमा बस्दै आएको स्रोतले जनाएको छ ।
उद्योगले विगत तीन वर्ष देखिको उखु खरिद बापतको रकम किसानलाई दिएको छैन । उद्योगमा केही कच्चा पदार्थ र बिक्री योग्य सामाग्री रहेकाले ती सामग्री बेचेर भएपनि किसानको पैसा असुलउपर गर्न उखु उत्पादक महासङ्घले पलह गर्ने बताएपनि हाल सम्म किसानले पैसा पाउन सकेका छैनन् ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले इन्दिरा चिनी उद्योगका सन्दर्भमा गुनासो प्राप्त भएको बताउँदै आफू भर्खरै जिल्ला आएकाले जानकारी लिने काम भइरहेको बताउनुभयो । उहाँले सञ्चालनमा रहेका दुई वटा चिनी उद्योगको भुक्तानीको विषयमा आफूले जानकारी लिएको बताउँदै इन्दिराको सन्दर्भमा पनि उद्योगी झिकाएर भुक्तानीको लागी पहल गर्ने बताउनुभयो ।
इन्दिरा मिल सञ्चालन होला भन्ने आशाले उखु खेती गरेका सो क्षेत्रका किसानहरू उखु खेत नजिकै रहेको उद्योग सञ्चालनमा नआउँदा सुनवल र सुस्ता पठाउनुपर्ने बाध्यतामा छन् । जिल्लाको सुस्तामा रहेको बागमती खाडसारी र सुनवलमा रहेको लुम्बिनी चिनी उद्योग भने सञ्चालनमा छन् । ती दुई उद्योगले अहिले धमाधम विभिन्न स्थानबाट उखु खरिद गरेर क्रसिङ गरिरहेका छन् ।