• ३० पुस २०८२, बुधबार

विजयपुर-साँगुरीगढी-पाख्रीबास पदयात्रा पाख्रीबासमा समापन

blog

धनकुटाको पाख्रिबास नगरपालिकामा आयोजित पदयात्रा समापन कार्यक्रम । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी

पाख्रीबास, (धनकुटा) पुस ३० गते । विजयपुर-साँगुरीगढी-पाख्रिबास पदयात्रा धनकुटाको पाख्रीबास नगरपालिकामा पुगेर समापन भएको छ । बुधबार पदयात्राको चौथो दिन नेपाली सेनाको पदयात्रा टोली पाख्रीबास पुगेसँगै एक कार्यक्रमको आयोजना गरी पदयात्रा समापन भएको हो ।

पदयात्रा समापन कार्यक्रमका प्रमुख अतिथि पाख्रिबास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङले यस पदयात्राले देशभक्तिको सन्देश फैलाउने र नयाँ कामको सुरुवात भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, शुभ कार्यको थालनी भएसँगै नेपाली सेनालाई सधैँ सहयोग गरेर अगाडि बढ्ने बताउँदै सधैँ साथ र सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली सेनाले सुदूरपश्चिमको मौलिक छलिया नृत्यसमेत प्रस्तुत गरेको थियो भने विभिन्न स्थानीय कला संस्कृति झल्काउने सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

३०४ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा २७ गते सुनसरीको विजयपुरगढीदेखि पदयात्रा सुरु भएको थियो । पदयत्रा पहिलो दिन विजयपुरगढीदेखि धनकुटाको साँगुरीगढीमा आएपश्चात् एक कार्यक्रमको आयोजना गरिएको थियो । यस्तै, दोस्रो दिन साँगुरीगढीबाट करिब ९ किलोमिटर दूरी पार गर्दै धनकुटा नगरपालिका–९, स्थित मूलघाट आइपुगेको थियो । साँगुरीगढी, धारापानी, घण्टे, फेदी, हुँदै मूलघाटमा आइपुगेको थियो । पदयात्रा टोलीलाई साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईलगायतले बिदाइ गर्नुभएको थियो ।

यस्तै बिदाइ गरेपछि तेस्रो दिन मूलघाटबाट करिब १४ किलोमिटर यात्रापछि महाङ्ग, बेलहरा हुँदै धर्मशाला पुगेको थियो । धर्मशाला आइपुगेको उक्त टोलीलाई धनकुटा नगरपालिका–९ का वडाध्यक्ष टङ्क रोइला, स्थानीय तथा विद्यार्थीहरुले अविर मालासहित भव्य स्वागत गरेका थिए । यस्तै बुधबार बिहान पदयात्रा टोली धर्मशालाबाट पाख्रीबासमा आइपुगेर एक कार्यक्रमको आयोजना गरी पदयात्रा समापन भएको श्री भीमदल गण सल्लेरी धनकुटाका गणपति गणेश थापाले जानकारी दिनुभयो ।

नेपाली सेनाले ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्दै प्रवर्धन गर्ने उद्देश्यले पदयात्रा गरेको गणपति थापाले बताउनुभयो । उहाँले भन्नुभयो ऐतिहासिक रुपमा रहेको विजयपुरगढी, साँगुरीगढी र पाख्रीबास क्षेत्रको पहिचान, संरक्षण तथा प्रवर्धनका साथै राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने उद्देश्यले पदयात्रा गरिएको उहाँको भनाइ छ । 

इतिहास संरक्षणका लागि पदयात्रा तय गरेको र संर्वद्धनमा टेवा पुग्नुका साथै राष्ट्रिय एकताको भनावनासमेत अभिवृद्धि हुने बताइएको छ । नेपालको एकीकरणको दौरानमा फुस्रे, चिउरीबास, साँगुरीगढी, फेदी, टेकुनाला, धनकुटा, बेलहरा, उत्तरपानी, हिले, पाख्रिबासलगायतका स्थानमा पुग्न प्रयोग भएका मार्गलाई जीवन्त राख्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पदयात्रा गरिएको गणपति थापाले बताउनुभयो ।