रमेश विश्वकर्मा
गुल्मी, पुस ३० गते । गुल्मीमा चोरीका दुई स्कुटरसहित दुई जना किशोर पक्राउ परेका छन्। पाल्पाको तानसेन नगरपालिका-१४ अर्घलीका १६ वर्षीय किर्तिक पराजुली र रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ गोलपार्कका १६ वर्षीय प्रमिश पौडेल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुका अनुसार यस जिल्लाको रुरुक्षेत्र गाउँपालिका-१ रिडीबजार बसपार्कस्थित प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पराजुलीले चलाएको लु २८ प १११९ नम्बर को रातो रङको स्कुटरको कागजात नभएको पाइएको थियो।
त्यसैगरी स्कुटी र निज चालकसँग साथमा आएका पौडेलले चलाई ल्याई लुकाइराखेको लु ४१ प २७९३ नम्बरको स्कुटर रेसुङ्गा नगरपालिका-८ मा फेला पारी रीतपूर्वक बरामद गरिएको छ। स्कुटरसहित चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा लु २८ प १११९ नम्बरको स्कुटरको वास्तविक नम्बर लु १९ प ६५७६ रहेको पाइएको उहाँले जानकारी दिनुभयो।
प्रहरी नायब उपरीक्षक सारुका अनुसार उक्त स्कुटरकी धनी तबिता विकले स्कुटर चोरी भएको भनी इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिनुभएको थियो। घटनासँग सम्बन्धित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि दुवै स्कुटर र चालकहरुलाई इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीलाई जिम्मा लगाई पठाइएको छ।