• २९ पुस २०८२, मङ्गलबार

गोरखादेखि गोरखपुरसम्मको खिचडी यात्रा सुरु

blog

गोरखाबाट उत्तर प्रदेशको गोरखपुरसम्म खिचडी यात्रामा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानासहितको टोली निस्कने क्रममा । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका

सुलीकोट, पुस २९ गते । गोरखाको गोरखा दरबारस्थित गुरु गोरखानाथ मन्दिरदेखि भारतको गोरखपुरसम्मको ‘खिचडी यात्रा’ मङ्गलबारबाट सुरु भएको छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गोरखाको गोरखनाथ देखि ५० जनाको टोलीले भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको यात्रा सुरु गरेको हो ।

राष्ट्रिय गौ संरक्षण सङ्घ र गुरु गोरक्षानाथ फाउन्डेसनको आयोजनामा तथा गोरखा नगरपालिका र गोरखा दरबार हेरचाह अड्डाको समन्वयमा खिचडी यात्रा प्रारम्भ गरिएको हो । खिचडी यात्रामा बाजागाजा, मङ्गलधुन, स्वस्तिक वाचन सहित गोरखपुरसम्मको यात्रा सुरु गरिएको राष्ट्रिय गौ संरक्षण सङ्घ गोरखाका संयोजक होमसिंह बस्नेतले जानकारी दिनु भयो । 

राष्ट्रिय एकताका प्रतिक राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण पछि यो खिचडी यात्राको सुरुवात गर्नुभएको थियो, गौ संरक्षण सङ्घ गोरखाका संयोजक बस्नेतले भन्नु भयो, "देशमा राजाको बर्हिगमनपछि खिचडी यात्रा पनि रोकिएकाले २० वर्षपछि पुन यात्रा सुरु गरिएको छ ।"

खिचडी यात्राले हराएको संस्कृतिलाई जोगाउन र गोरखामा धार्मिक पर्यटकको आकर्षण बढाउनुका साथै खिचडी यात्राले गोरखाको पर्यटन प्रवर्धनमा नयाँ आयम थप्ने विश्वास लिएको गौ संरक्षण समिति गोरखाका संयोजक बस्नेतको भनाइ छ ।

खिचडी गौ यात्रा भनेर चिनिने यो यात्रालाई यो वर्ष गोरखा नगरपालिकाले ढेड लाख रुपियाँ सहयोग गरेको छ । गोरखा नगरपालिकाले आफ्नो निति तथा कार्यक्रममा नै खिचडी यात्रालाई समावेश गरी निरन्तरता दिँदै आएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानाले बताउनु भयो । 

गोरखनाथ मन्दिरबाट प्रसाद स्वरूप खिचडी लिएर उत्तर प्रदेशमा रहेको गोरखनाथ मन्दिरमा माघी पर्वका ब्रम्हमुर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको गौ संरक्षण सङ्घ गोरखाले जनाएको छ । 

यात्रामा सहभागी टोलीले गोरखपुर पुगेर खिचडी तयार गर्न आवश्यक १४ प्रकारका काँचो खाद्य सामग्री चढाई पुन गोरख फर्कने कार्यक्रम रहेको गौ संरक्षण समितिका गोरखाका संयोजक बस्नेतले बताउनु भयो ।