सिँजा समाचारदाता
सिँजा (जुम्ला), पुस २९ गते । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा यस वर्ष पुस सकिन लाग्दासमेत हिमपात भएको छैन । जुम्लाको पातारासी गाउँपालिकामा पर्ने पातारासी हिमाल र गुठीचौर गाउँपालिकामा पर्ने कान्जिरोवा हिमालमा पुसको अन्तिमसम्म पनि हिउँ नपरेपछि विगतमा सेताम्मे देखिने हिमाल अहिले कालापत्थरमा परिणत भएका छन् ।
सामान्यतया पुस महिनाभित्रै यी हिमालमा बाक्लो हिमपात भई हिमाल सेताम्मे देखिनुपर्ने हो तर पुसको अन्त्य हुन लाग्दासमेत हिमपात नहुँदा हिमालमा जमेको पुरानो हिउँ पग्लँदै गएको स्थानीयवासी बताउँछन् ।
विगतका वर्षमा जुम्ला सदरमुकामबाट सहजै देखिने कान्जिरोवा र पातारासी हिमाल हिउँदमा सेताम्मे देखिन्थे तर यस वर्ष भने हिमालका ढिस्कामा कालापत्थर देखिन थालेका छन् । स्थानीय सरोज शाहीले हिमालमा हिउँ हराउनु केवल सौन्दर्य हराउनु मात्र नभई वातावरणीय सङ्कटको सङ्केत भएको बताउनुभयो । हिमालको हिउँ पग्लँदै जानुले पानीका मुहान सुक्ने, मौसम असन्तुलित हुने र दीर्घकालमा जीवन प्रणालीमै असर पर्न सक्ने उहाँको बुझाइ छ ।
हिउँदको सिजनमा सेताम्मे देखिनुपर्ने हिमाल र डाँडाकाँडा अहिले फुस्रो देखिन थालेपछि स्थानीयस्तरमै जलवायु परिवर्तनको असर प्रत्यक्ष अनुभव गर्न थालिएको छ ।
जलवायु परिवर्तनको असर
हिमालमा हिउँ नपर्नु र जमेको हिउँसमेत नासिँदै जानुले जलवायु परिवर्तनको असर हिमाली जिल्लामा तीव्र रूपमा देखिन थालेको जलवायुविज्ञ दिपेश आचार्यले बताउनुभयो । हिमालको हिउँ पग्लिँदा दीर्घकालमा नदी, खोला, मुहान सुक्ने, जैविक विविधतामा असर पर्ने र हिमाली जीवनशैली नै जोखिममा पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । समयमै पानी नपर्नु तापक्रम बढेको अनुमान गर्न सकिन्छ । उहाँले भन्नुभयो, “हिमालको हिउँ पग्लिरहेको अवस्था छ । विगतका वर्षमा हिउँ परे पनि यस वर्ष अहिलेसम्म हिउँ परेको छैन ।” हिउँ नपर्दा हिमालको रेन्जमा कालापत्थर देखिन थालेको आचार्यको भनाइ छ । यस वर्ष जुम्लासहित कर्णालीका अन्य हिमाली जिल्लामा समेत हिमपात न्यून हुँदै गएको तथ्यले जलवायु परिवर्तन अब भविष्यको मात्र होइन, वर्तमानको गम्भीर चुनौती बनेको स्पष्ट देखिन थालेको छ ।
हिउँ नपर्दा किसान चिन्तामा
हिमपात नहुँदा सबैभन्दा ठुलो असर किसानलाई परेको छ । जुम्लामा हिउँदे बालीका रूपमा जौ, गहुँ, उवा र स्याउ खेती गरिन्छ । यी बालीका लागि हिउँ प्राकृतिक सिँचाइका रूपमा लिइन्छ । तर यस वर्ष आकासे पानी र हिमपात दुवै नहुँदा खेतबारी सुक्दै गएको किसानको गुनासो छ । गुठीचौर गाउँपालिका–२, गुठीगाउँका किसान मोतीलाल बुढाले हिउँ नपर्दा खेतमा छरेको बिउसमेत राम्रोसँग उम्रिन नसकेको बताउनुभयो ।