गोरखापत्र अनलाइन
काठमाडौँ, पुस २८ गते । थारू समुदायको नयाँ वर्ष माघ (माघी) २०८२ को अवसरमा काठमाडौँमा माघी महोत्सव हुने भएको छ । महोत्सवको उदघाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुने आयोजक संस्थाका पदाधिकारीहरूको भनाइ छ ।
पुस ३० र माघ १ गते हुने महोत्सवमा थारू संस्कृतिको संरक्षण, प्रवर्धनसँगै थारू समुदायको माग मुद्दाबारे बहस हुने थारू राष्ट्रिय माघी महोत्सव २०८२ का संयोजक प्रेमीलाल चौधरीले बताउनु भयो । थारू कल्याणकारिणी सभा (थाकस) सहित विभिन्न २२ सङ्घ संस्थाको संयुक्त आयोजनामा महोत्सव आयोजना हुन लागेको थाकसका अध्यक्षसमेत रहनु भएका चौधरीले बताउनु भयो ।
अध्यक्ष चौधरीका अनुसार थारू समुदायको निजामती कर्मचारीमा आरक्षण, टीकापुर घटनामा पक्राउ परेकाहरूको रिहाइ, संविधानले व्यवस्था गरे अनुसारको आदिवासीको क्लस्टर अनुसारको विशेष क्षेत्र, संरक्षित क्षेत्र, प्रदेशमा सिफारिस भएका थारू भाषाको सरकारी कामकाज, थारू समुदायको राजनीति, सांस्कृतिक तथा प्रथाजनित कानुनको अधिकारका विषयलाई महोत्सव मार्फत खबरदारी गरिने छ ।

थारू समुदायले उपत्यकामा बसोवास गर्नेहरूका लागि टुँडीखेलमा माघी महोत्सव मनाइने भए पनि तराईमा बसोवास गर्ने २६ जिल्ला, नगर तथा पालिकागरी सयौं स्थानमा माघी महोत्सव आयोजना हुन लागेको संयोजक चौधरीले बताउनु भयो ।
थारू समुदायले २०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव आयोजना गर्दै आएको छ । जनगणना २०७८ अनुसार थारू समुदायको जनसङ्ख्या १८ लाख ८९ हजार ४२३ छ । महोत्सवको अवसरमा २९ गते काठमाडौँमा मोटरसाइकल र्याली प्रदर्शन गर्ने, ३० गते जिता (मासु) मार्ने, माघ १ गते वसन्तपुरदेखि झाँकी प्रदर्शन गर्दै टुँडीखेलमा जाने तालिका रहेको महोत्सवका सदस्य सचिव सत्यनारायण चौधरीले बताउनु भयो ।
काठमाडौं उपत्यकामा करिब २ लाख थारू समुदायको बसोवास भएकाले टुँडीखेलको मैदान पनि माघी महोत्सवका लागि साँगुरो हुने गरेको चौधरीको भनाइ छ । महोत्सव आयोजना गर्न करिब पन्ध्रदेखि बीस लाख रुपियाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।
माघी पर्वलाई ठाउँ अनुसार थारूहरूले माघ, माघी, तिला सङ्क्राइत, खिचरा, खिचरीको नामले मनाउने गर्छन् । माघी पर्वमा थारू समुदायले विशेष परिकार खाने गर्छन् । विशेष परिकारमा सुङ्गुर बङ्गुरको मासु, अनडीको भात, ढिक्री, खिचरी भात, तिलको लड्डु, लाइमुरी, भुजा, अनडी जाँरको झोल, केराको तरुवा, सखरखण्ड, सिध्रा, खँरिया, परेवाको मासु, घोङ्घी, गङ्गटा, सिन्की, बयरको चटनी, बरिया, तेलपौर रोटी, झझ्रा रोटी लगायत छन् ।

महोत्सवमा १०० वटा स्टल रहने मूल आयोजक समितिका संयोजक चौधरीले बताउनु भयो । महोत्सवमा थारू नृत्य, सांस्कृतिक कार्यक्रमसहित थारू हस्तकलाका सामग्री प्रदर्शन गरिने उहाँको भनाइ छ । थारू समुदायले यस वर्ष २६४९ सम्बत अनुसार माघी पर्व मनाउँदैछन् । आयोजकले माघी महोत्सवबारे आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।