अर्जुन काफ्ले
स्याङ्जा, पुस २७ गते । चर्चित लोक युवा गायक अर्जुन सापकोटाले तेस्रो चापाकोट महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्नु भएको छ ।
महोत्सवको दोस्रो दिन सापकोटाले रौनक थप्नु भएको हो । महोत्सव स्थलमा सापकोटालाई हेर्न दर्शकको ठूलो घुइँचो लागेको थियो । स्टेजमा उक्लिन साथ दर्शकको ताली र नाराले वातावरण उत्साहले भरिएको थियो ।
लोकलय र झलिको गीतमार्फत लोकप्रिय बन्नु भएका सापकोटाले एकपछि अर्को चर्चित गीत प्रस्तुत गर्दा दर्शकहरू मञ्च अगाडि झुमिएका थिए ।
युवादेखि वृद्धसम्म सापकोटाको झलिको।।।।।, पछ्यौरी लिइस्यो।।।, बस्यौ अलक्कै।।।।, डाँडैको टुनीलगायतका गीतमा नाचेका थिए ।
सापकोटाको गीतमा दर्शकको भीड र नाचगानले महोत्सवलाई स्मरणीय बनाएको थियो । दर्शकले देखाएको अपार मायाप्रति गायक सापकोटाले धन्यवाद व्यक्त गर्दै चापाकोटको माया कहिल्यै नबिर्सने बताउनु भएको थियो ।
महोत्सवमा साङ्गीतिक प्रस्तुतिका साथै स्थानीय कला, संस्कृति र उत्पादनको पनि प्रदर्शनी गरिएको छ । दोस्रो दिनसम्म आइपुग्दा महोत्सवले स्थानीय व्यवसाय प्रवर्द्धन र सांस्कृतिक पहिचान उजागर गर्न सहयोग पुगेको आयोजकको भनाइ छ ।
तेस्रो चापाकोट महोत्सवमा आगामी दिनहरूमा पनि विभिन्न साङ्गीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुने जनाइएको छ ।
चापाकोट उद्योग वाणिज्य संघद्वारा आयोजना गरिएको यस महोत्सवले पर्यटन प्रवद्र्धन, स्थानीय कलाकारको हौसला र आर्थिक चलायमानतामा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।