• २६ पुस २०८२, शनिबार

गुल्मीमा पहिलो दिन ४६ जना निर्वाचन प्रहरीको आवेदन

blog

निर्वाचन प्रहरीमा भर्ना हुनेहरुको जिल्ला प्रहरी कार्यालय गुल्मीमा भिड । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुंगा (गुल्मी), पुस २५ गते । गुल्मीमा पहिलो दिन ४६ जनाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा ४१ पुरुष र पाँच जना महिलाले आवेदन दिएका हुन् । 

पुस २५ गतेबाट जिल्ला प्रहरी कार्यालयसहित इलाका प्रहरी कार्यालय रिडी र पुर्कोट दहबाट पनि निर्वाचन प्रहरीको लागि भर्ना आवेदन पेश गर्न पाइने व्यवस्था गरिएको छ । गुल्मीमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि एक हजार ८७४ निर्वाचन प्रहरी भर्ना आव्हान गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय, गुल्मी र सशस्त्र प्रहरी वल, नेपाल नं ३७ गुल्मीमार्फत दरखास्त माग गरिएको छ । जिल्ला प्रहरी कार्यालयतर्फ एक हजार ६९५ र सशस्त्र प्रहरीका लागि १७९ जना निर्वाचन प्रहरी माग गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुवैतर्फ भर्ना एकीकृत हुनेछ । भर्नापछि १७९ जनालाई छनौट, तालिम र परिचालनको काम सशस्त्र आफैले गर्ने सशस्त्र प्रहरी नायव उपरीक्षक सुदिप प्रसाइँले बताउनुभयो ।

सशस्त्र निर्वाचन प्रहरीको पोशाक पनि फरक हुनेछ । नेपाल प्रहरीमा पुरुष एक हजार १९ र महिला ६७६ जनाको लागि दरखास्त माग गरिएको छ । २०७९ सालको निर्वाचनमा पुरुष एक हजार १३२ र महिला ३२८ गरेर एक हजार ४६० जना म्यादी प्रहरी भर्ना भएका थिए ।