सियोल, पुस २५ गते । चीन भ्रमण सकेर फर्किनुभएका दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले जापानका प्रधानमन्त्री साने ताकाइचीसँग वार्ता गर्न आगामी हप्ता जापान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयका अनुसार उहाँ मङ्गलबार र बुधबार प्रधानमन्त्री ताकाइचीको गृहनगर नारा पुग्नुहुनेछ ।
यो भ्रमण ताइवान वरपर चीनले हालै गरेको ठूला सैन्य अभ्यास र उत्तर कोरियाले जापान सागरमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको संवेदनशील पृष्ठभूमिमा हुन लागेको हो । सन् २०२५ मा पदभार सम्हाल्नु भएका राष्ट्रपति ली र प्रधानमन्त्री ताकाइची अन्तिम पटक अक्टोबरमा दक्षिण कोरियाको ग्योङ्जुमा आयोजित एपेक शिखर सम्मेलनको अवसरमा भेट्नुभएको थियो ।
गत अगस्टमा प्रधानमन्त्री ताकाइचीका पूर्ववर्ती सिगेरु इसिबासँग भेट गरेपछि यो राष्ट्रपति लीको दोस्रो जापान भ्रमण हो । राष्ट्रपति लीले नारा सहरमा प्रधानमन्त्री ताकाइचीसँग शिखर वार्ता र औपचारिक रात्रिभोजमा सहभागी भई क्षेत्रीय तथा विश्वव्यापी विषयमा छलफल गर्नुहुनेछ ।
साथै अर्थतन्त्र, समाज र संस्कृति जस्ता जनजीवनसँग प्रत्यक्ष सम्बन्धीत क्षेत्रमा व्यावहारिक सहकार्य सुदृढ गर्ने उपायबारे पनि विचार–विमर्श हुने राष्ट्रपति कार्यालयले जनाएको छ । यो भ्रमण प्रधानमन्त्री ताकाइचीको पदभारपछि पहिलो औपचारिक द्विपक्षीय भ्रमण भएकाले दुई देशको सम्बन्धलाई भविष्य उन्मुख र स्थिर दिशामा अघि बढाउने अपेक्षा गरिएको छ ।
जापानले १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा गरेको उपनिवेशकालीन शासनसँग जोडिएका विषयका कारण दक्षिण कोरिया-जापान सम्बन्ध लामो समयदेखि संवेदनशील रहँदै आएको छ । अघिल्ला राष्ट्रपति युन सुक येओलले जापानसँग सम्बन्ध सुधार गर्ने प्रयास गर्नुभएको थियो भने राष्ट्रपति लीले उत्तर कोरियाप्रति तुलनात्मक रूपमा नरम दृष्टिकोण अपनाउँदै दक्षिण कोरिया र जापानलाई ‘आँगन साझा गर्ने छिमेकी’ जस्तै भन्नुभएको छ ।
यसै हप्ता राष्ट्रपति लीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नुभएको थियो, जुन छ वर्षपछि भएको दक्षिण कोरियाली राष्ट्रप्रमुखको पहिलो चीन भ्रमण हो । बुधबार राष्ट्रपति लीले जापानसँगको सम्बन्ध चीनसँगको सम्बन्ध जत्तिकै महत्वपूर्ण रहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रपतिका प्रवक्ता काङ् यु-जुङका अनुसार चीन भ्रमणका क्रममा राष्ट्रपति लीले कुनै पनि संवेदनशील विषय औपचारिक रूपमा उठाउनुभएको थिएन । रासस/एएफपी