• २६ पुस २०८२, शनिबार

न्यूनतम व्यावसायिक मापदण्ड पूरा गर्न सुझाव

blog

सदरमुकाम फुङ्लिङ बजारमा पसल व्यवसायको अनुगमन गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २५ गते ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारका व्यवसायीलाई न्यूनतम व्यावसायिक मापदण्ड पूरा गर्न सुझाव दिइएको छ । बिहीबार फुङ्लिङ बजारको अनुगमन गर्दै अनुगमन टोलीले व्यापार व्यवसाय गर्दा व्यावसायिक मापदण्ड पूरा गर्नुपर्ने सुझाव दिएको हो ।

जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले फुङलिङका पसल तथा व्यापारिक केन्द्रको अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा उपभोग्य वस्तु उपभोगयोग्य भए नभएको, मूल्यसूची, उचित मूल्यदर कायम र व्यवसाय दर्ता तथा नवीकरण भए नभएको अवस्थाबारे निरीक्षण गरिएको थियो ।

अनुगमन टोलीले पहिलो चरणमा व्यवसायीलाई न्यूनतम् व्यावसायिक मापदण्डको प्रभावकारी पालना गर्न सुझाव दिनुका साथै मापदण्डबारे सचेत गराएको छ । न्यूनतम् मापदण्ड कार्यान्वयन वा पालना नगरेको पाइएमा कानुनबमोजिम हुने विषयमा सम्बन्धित व्यवसायीलाई सचेत गराएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।

उहाँकाअनुसार कतिपय व्यवसायीले व्यापार व्यवसाय गर्दा पालना गर्नुपर्ने न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएपछि व्यवसायीलाई सचेत गराइएको हो । कोही पनि व्यापारी व्यवसायीलाई उपभोक्ता हितविपरीत गर्न पाउने छुट नभएकाले न्यूनतम् मापदण्डको पालना गर्नु अनिवार्य रहेको पनि उहाँले बताउनुभयो ।

फुङ्लिङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्चलगायत निकायका प्रतिनिधि संलग्न रहेको टोलीले बजार अनुगमन गरेको हो । खाद्यान्न वा किराना पसल, माछा मासुजन्य, तरकारी, फलफूलजन्य पसल, होटल, जुत्ताचप्पल, कपडा र शृङ्गारका सामग्री बिक्री हुने व्यवसाय समेतको अनुगमन गर्नेगरी समितिले योजना बनाएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।