विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस २५ गते । सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
नगरपालिकाको वडा नम्बर ४ स्थित कर्मनिया बजारमा बिहीबार राति ८ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका वडा नम्बर ८ मल्हनवा घर भएका २४ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.१० प. ५५१७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक डाइभर्सनका लागि दायाँतर्फ राखिएको सिमेन्टको ब्लकमा ठोक्किँदा चौधरी गम्भीर घाइते हुनुभएको थियो ।
गम्भीर घाइते उहाँलाई उपचारका लागि सप्तऋषि अस्पताल, लहान पठाइएकोमा पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय सरोज चौधरीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।
उहाँको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।
दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।