• १८ चैत २०८२, बुधबार

चार लेन सडकको ७१ प्रतिशत काम सम्पन्न

blog

चार लेन सडक निर्माणअन्तर्गत कुशहा–कमला पश्चिमी खण्डमा पर्ने लहान नगरपालिका–१ को मुख्य चोकमा निर्माणाधीन ओभरपास। तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, पुस २५ गते ।
पूर्व–पश्चिम राष्ट्रिय राजमार्गअन्तर्गत कञ्चनपुर–कमला खण्डको पश्चिमी भाग कुशहा–कमलासम्म चार लेन सडक निर्माणको ७१ प्रतिशत काम सम्पन्न भएको छ ।

सप्तरीको कुशहादेखि सिरहाको कमलासम्म फैलिएको ४७.४१ किलोमिटर सडक निर्माणको जिम्मा पाएको कञ्चनपुर–कमला पश्चिम खण्ड मिर्चैयाका सूचना अधिकारी अनुपम साहका अनुसार थप काम सम्पन्न गर्न तेस्रो पटक आगामी जुन महिनासम्म म्याद थप गरिएको छ ।

मिर्चैया र लहानमा निर्माण गरिने ओभरपासका टोपी (डेक) निर्माण कार्य शीतलहरका बाबजुद निरन्तर भइरहेको छ। यस खण्डमा दुईवटा फ्लाइओभर र तीनवटा अन्डरपास निर्माणको काम जारी छ ।

लहान, गोलबजार, मिर्चैया र बन्दीपुर सहरी क्षेत्रमा निर्माण हुने छ लेन सडकका लागि हटाउनुपर्ने ३४० वटा विद्युत् पोल (लहानमा १३५, गोलबजारमा १०९, मिर्चैयामा ४० र बन्दीपुरमा ५६) नहट्दा निर्माणमा समस्या आएको थियो । हाल पोल हटाउने काम सम्पन्न भएपछि निर्माण कार्य सहज भएको सूचना अधिकारी साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार कञ्चनपुर–कमला सडकखण्डको ८६.८३ किलोमिटर क्षेत्रमा पर्ने कुशहादेखि कमलासम्म एक हजार ४९८ वटा रुख काटिएकोमा डिभिजन वन कार्यालयसँग समन्वय गरी एक रुख बराबर २५ वटा बिरुवा रोप्ने कार्य भइरहेको छ ।

ओभरपास निर्माणको माग गर्दै स्थानीयले पटक–पटक दबाब तथा आन्दोलन गरेपछि निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनीले शीतलहरको समयमा पनि नियमित रूपमा काम गरिरहेको सूचना अधिकारी साहले बताउनुभयो । कुनै अवरोध नआए आगामी जुनसम्म काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण अघि बढाइएको उहाँको भनाइ छ ।

पटक–पटक म्याद थपिँदा पनि निर्माण कार्य अघि नबढेको भन्दै वर्षौंदेखि धुलो–धुवाँ र सास्ती खेप्नुपरेको स्थानीयको गुनासो र आन्दोलनपछि अहिले निर्माणले गति लिएको मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादवले बताउनुभयो ।