• १८ चैत २०८२, बुधबार

रहरले तरकारी खेतीमा रमाएका मोतीलाल

blog

वाखेतका मोतीलाल रोकाले लगाउनुभएको तरकारी । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, पुस २५ गते ।
लामो समय वैदेशिक रोजगारीमा बिताएर ४० वर्षको उमेरमा देश फर्किनु भएका वाखेतका मोतीलाल रोकाले तरकारी खेती गर्न थालेको पनि २० वर्ष भयो । अहिले ६० वर्ष पुग्नु भएका मोतीलाल झण्डै २० वर्ष नै साउदी अरबमा बिताउनुभएको थियो । उहाँसँग साउदीको चर्को गर्मीमा दुःख गरेको अनुभव छ । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १० वाखेतमा उहाँले अहिले पनि ३ रोपनी जमिनमा तरकारी खेती गर्नु भएको छ ।

मोतीलाललाई तरकारी बारीमा उहाँकी श्रीमती इनामती रोकाले सघाउँदै आउनु भएको छ । बाहिरी कामदार भन्दा पनि आफ्नै दुःखजिलो अनि मेहनतले नै उहाँको यतिबेला बारीमा आलु, बन्दा, काउली, ब्रोकाउली, गाँजर, लसुन, मुला र अदुवा उत्पादन गर्नुभएको छ । सिंचाइको समस्याका कारण मौसमी तरकारीमात्र लगाउँदै आउनु भएका मोतीलालले यो वर्ष एक हजार ८ सय केजी टमाटर बेचेको बताउनुभयो । अदुवा पनि अलिकति खनि सकेँ अलिकती खन्न बाँकी छ मूल्य राम्रो पायो भने गाडीमा हालेर बजार पठाइदिनु पर्ला उहाँले भन्नुभयो ।

पहिलपहिला पिठ्युँमा बोकेरै बजारसम्म लगेर बेच्न पर्ने भए पनि आजभोली गाउँमै गाडी आउँछन् । त्यसैले तरकारी बिक्री गर्न समस्या छैन । पहिले डोकोमा तरकारी बोकेर बेनी बजार पु¥याउँने गरेको उहाँको अनुभव छ । बिहान ५ बजे ६५ किलोसम्म तरकारी बोकेर बेनी बजारमा पुगेर बेचेको अनुभव संगाल्नु भएका मोतीलाले आजभोली बारीबाटै गाडीमा तरकारी लोड गरेर बेनी बजार पठाउनु हुन्छ । अलिअलि तरकारी गाउँमै बिक्री हुने भए पनि सबै यहाँ नबिक्ने हुँदा बजार सम्म पठाउनै पर्छ ।

मोतीलालले रोका पशुपंक्षी तथा तरकारी फर्म समेत दर्ता गर्नुभएको छ । पहिले घरखर्च चलाउन, छोराछोरी पढाउन र आयआर्जनका लागि तरकारी खेती थाल्नुभएको उहाँले आजभोली रहरले तरकारी लगाएको बताउनुभयो । रहरको तरकारी खेतीबाट वार्षिक डेढ लाख रुपियाँसम्म जोगाउने गरेको बताउनुभयो ।

सामाजिक संघ सस्था, विद्यालय, टोलका समितिमा समेत सक्रिय भएर सामाजिक काम गर्दै आउनु भएका मोतीलालका चार सन्तान छन् । दुई छोरी र एक छोरा विदेशमा र एक छोरी सदरमुकाम बेनी बजारमा रहेको बताउने रोकाले छोराछोरी अब दुःख नगर्नुस् भने पनि अल्छी भइन्छ भन्ने डरले तरकारी लगाउने गरेको बताउनुभयो । ‘‘शरिरले साथ दिने बेलासम्म काम गर्नुपर्छ,’’ रोकाले भन्नुभयो, ‘‘घरको खेतबारीको काम गर्न छोड्ने हो भने रोगी भइन्छ, निरोगी हुन पनि आफुले सकेको काम गर्नु पर्छ ।’’

साना साना किसानले गरेको दुःखलाई सम्मानजनक मूल्य भने नभएको उहाँको गुनासो छ । बजारमा तरकारीको मूल्य सधैँ एउटै हुँदैन । आज ८० परेको टमाटर भोलिपल्टै ६० रुपिपाँमा झर्छ, उहाँले भन्नुभयो त्यो किसानलाई मात्र मूल्य घटेको हो, तरकारी किनेर खानेलाई घटेको होइन्, व्यापारीले मन लाग्दो मूल्य गर्छन् ।